काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतविरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्रमुख बस्नेतले पदको दुरूपयोग गरेर आफ्नै नगरपालिका क्षेत्रमा रहेको पद्या कोलनी प्रालि, पद्या मर्चेन्ट कम्पनी र जगतगुरू कृपालु प्रतिष्ठान नेपालका लागि काम गरी नाजायज लाभ लिएको र राज्यकोषमा नोक्सानी हुने काम गरेको आरोप आयोगको छ ।
बजार मूल्य ४७ करोड ७५ लाख रूपैयाँ भएको जग्गा पद्या कोलनीले जग्गाधनीलाई १८ करोड ९४ लाख १८ हजार चार सय ४८ रूपैयाँ भएको उल्लेख गरी भुक्तान दिएको, राजस्व र बैनाबट्टा रकमसमेत गरी कुल २३ करोड २२ लाख २७ हजार रूपैयाँ मात्रै भुक्तानी गरेको पाइएको आरोपपत्रमा उल्लेख छ ।
सो कार्यमा नगरप्रमुख बस्नेतको प्रत्यक्ष सहभागिता रहेको पाइएको आयोगको आरोप छ । नगरप्रमुख बस्नेत र निजको श्रीमती उर्मिला बस्नेतको खातामा दुई करोड १५ लाख ७३ हजार तीन सय ९५ रूपैयाँ जम्मा गरेको पाइएको छ । यस्तै, छ करोड ८२ लाख रूपैयाँ बराबरको जग्गा र वैवाहिक भोज गर्दा २४ लाख ७२ हजार छ सय ३७ रूपैयाँ बराबरको रकमसमेत पद्या कोलनीका सञ्चालक राजुप्रसाद कँडेलले उपलब्ध गराएको आयोगले जनाएको छ ।
आयोगले नौ करोड २२ लाख ४६ हजार ३२ रूपैयाँ बराबरको बिगो दाबी गर्दै नगरप्रमुख बस्नेत, उनकी श्रीमती उर्मिला बस्नेत, पद्या कोलनीका सञ्चालक कँडेलविरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गरेको अभियोगमा पनि प्रमुख बस्नेत, उनकी श्रीमती उर्मिला र पद्या कोलनीका सञ्चालक कँडेलविरूद्ध १३ करोड १२ लाख ७३ हजार रूपैयाँ बराबरको बिगो दाबी गर्दै आइतबार नै मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
FACEBOOK COMMENTS