काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एमालेका मधेश प्रदेश सांसद दिपेन्द्र कुमार ठाकुरसहित १७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले धनुषाको औरही गाउँपालिकामा अस्पताल निर्माणका क्रममा अनियमिता गरेको आरोपमा प्रदेश सांसदठाकुरसहित १७ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
अख्तियारले अस्पताल निर्माण गर्न लुम्बिनी/डि. एण्ड एन. जे.भी तथा डि.एण्ड एन. बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक रहेका ठाकुरसहित १७ जनालाई ६ करोड ६९ लाख १२ हजार ३८३ नोक्सान पुर्याएको आरोपमा मुद्धा दायर गरिएको छ ।
आरोपपत्रमा सबै भन्दा कम १२ करोड ३५ लाख ५० हजार २४८ रकम पेश गर्ने बोलपत्रदाता प्रतिष्ठा/धुलिखेल/एक्सिस एसियन जे.भी.लाई बोलपत्रमा उल्लेख भएको प्राविधिक मुल्याङकनमा फेल गरी गराई उक्त रकम भन्दा बढी रकम १९ करोड १४ लाख ६२ हजार ६३२ कवोल गर्ने लुम्बिनी/डि. एण्ड एन. जे.भी. लाई छनौट हुदा सो रकम राज्यलाई नोक्सानी पुर्याएको आरोप लागाएको छ ।
मुद्दा दायर हुनेमा औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रहमदेव यादव, तत्कालीन उपाध्यक्ष मीरा देवी सहनी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुवोध कुमार ठाकुर, वडा नम्बर १ का तत्कालिन अध्यक्ष आशेश्वर यादव, वडा नं.२ का तत्कालीन वडा अध्यक्ष अमित कुमार यादव, वडा नम्बर ३ का वडा अध्यक्ष गंगा प्रसाद यादव, वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष शिवनाथ साह, वडा नं.५ का तत्कालीन प्रमेश्चर कुमार मण्डल, वडा न. ६ का तत्कालीन वडा अध्यक्ष दिलिप कुमार साह छन् ।
यस्तै, तत्कालीन ईन्जिनियर सोनु साह, तत्कालीन सव-ईन्जिनियर सन्तोष कुमार मण्डल, सव-ईन्जिनियर बिनित कुमार साह, तत्कालीन खरिदार मोहन कुमार मण्डल, तत्कालीन खरिदार मनोज कुमार यादव, लुम्बिनी/डि. एण्ड एन. जे.भी तथा डि.एण्ड एन. बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक दिपेन्द्र कुमार ठाकुर (हाल मधेश प्रदेशका प्रदेश सभा सदस्य) र लुम्बिनी बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक बिष्णु प्रसाद शर्मा रहेका छन् ।
यो मुद्दा दर्ता भएसँगै एमाले संसदीय दलका उपनेता रहेका ठाकुर प्रदेश सांसदबाट निलम्बित भएका छन् । मधेश प्रदेशमा ठूलो दल रहेको एमालेका अब २४ सांसद भएका छन् ।
FACEBOOK COMMENTS