काठमाडौं । धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष बद्रीनारायण सिंह, उपाध्यक्ष रामबतिदेवी मण्डल, प्रमुख प्रशासकीय अधिकृतसमेत ९ जना र कन्स्ट्रक्शन प्रालिमाथि सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध शुक्रबार विशेष अदालतका काठमाडौंमा मुद्दा दायर गरेको हो ।
उनीहरूले बजार नाला तथा फोहरमैला व्यवस्थापन शीर्षकबाट बिना कुनै निर्णय बजार सेड निर्माण कार्यमा गोप्य रूपमा एउटै निर्माण व्यवसायीबाट तीनवटा निर्माण व्यवसायीको नामले टेन्डर भर्न लगाई कमिशन लिई बिनाप्रतिस्पर्धा १ रुपैयाँको मात्रै फरक पारी एकता सप्लार्यससँग मिलेमतोमा सम्झौता गरी गुणस्तरहीन बजार सेड निर्माण गरी कामभन्दा बढी नापी किताब तयार गरी भुक्तानी दिई बजेट रकम हिनामिना गरेको आरोप छ ।
अख्तियारले धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष बद्री नारायण सिंह, उपाध्यक्ष रामबति देवी मण्डल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी, सब–इन्जिनियर छोटे मण्डल, तत्कालीन योजना शाखा प्रमुख नासु नरेश कुमार मण्डल, लेखापाल राधेश्याम राय, तत्कालीन सह–लेखापाल विनोदकुमार मण्डल र एकता सप्लायर्स एण्ड कन्स्ट्रक्शन तथा उक्त कम्पनीका सञ्चालक इन्द्रेशकुमार सिंहविरुद्ध ३१ लाख ३४ हजार ७७९ रूपैयाँ अनियमितता गरेको आरोपमा त्यति नै रकम बिगो दाबी र कानुनअनुसारको सजाय माग गर्दै मुद्दा दायर गरेको छ ।
FACEBOOK COMMENTS