काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको छिपहरमाई गाउँपालिकामा बोलपत्र आह्वानसम्बन्धी झुट्टा सूचना प्रकाशित गरी सरकारी रकम दुरुपयोग गरेको ठहर गर्दै गाउँपालिका अध्यक्षसहित कर्मचारी र निर्माण व्यवसायीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार आर्थिक वर्ष २०७९–०८० मा छिपहरमाई गाउँपालिकाले विभिन्न निर्माण कार्यका लागि ठेक्का आह्वान गर्दा राष्ट्रियस्तरको सौर्य दैनिक पत्रिकामा सूचना प्रकाशित गरिएको देखाएर भुक्तानी गरिएको थियो । तर अनुसन्धानका क्रममा ती मितिमा पत्रिकामा कुनै सूचना प्रकाशित नै नभएको पुष्टि भएको हो ।
अनुसन्धानबाट छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साह, तत्कालीन लेखापाल संजय पटेल र विज्ञापन एजेन्सी केएस मल्टिपर्पोज प्रालि वीरगंजका सञ्चालक कमलकुमार उपाध्यायको मिलेमतोमा योजनाबद्ध रूपमा झुट्टा सूचना प्रकाशित गरिएको देखिएको अख्तियारका प्रवक्ता एवम सहसचिव सुरेश न्यौपानेले जानकारी दिए । उनका अनुसार भ्रष्टाचार निवारण ऐनअनुसार सबै प्रतिवादीलाई कानुनबमोजिम कडा सजाय हुन मागदाबी गरिएको छ ।
आयोगका अनुसार खानेपानीका लागि ट्युबवेल जडान, छिपहरमाई स्टेडियम निर्माण, चार कोठे भवन निर्माण तथा दलित आवास भवन निर्माणसम्बन्धी ठेक्कामा बोलपत्र आह्वानको सूचना सौर्य दैनिकमा प्रकाशित भएको देखाउँदै विज्ञापन एजेन्सीलाई भुक्तानी गरिएको थियो । तर प्रेस काउन्सिल नेपालबाट प्रमाणित हार्डकपी र पीडीएफ प्रतिमा सो सूचना प्रकाशित भएको नदेखिएको पुष्टि भएको छ ।
प्रतिवादी बनाइएका कमलकुमार उपाध्याय मधेश प्रदेश मिडिया काउन्सिलका रजिष्ट्रार हुन् । यस अघि उनी बाराको पचरौता नगरपालिकाको दुई वटा ठेक्काको टेण्डर सूचना राष्ट्रियस्तरको दैनिकमा प्रकाशन गर्नुपर्नेमा रेकर्डका लागि मात्र दैनिक पत्रिकामा एकप्रति प्रिन्ट गराएर बील भरपाइ बनाइ ३ लाख ५२ हजार ५६० रूपैयाँ हिनामिना गरेको अभियोगमा दोषी ठहर भइसकेका व्यक्ति हुन् ।
रजिष्ट्रार नियुक्त भए भएको दोस्रो दिनमा नै आयोगले उपाध्याय विरुद्ध गत वैशाख ९ मा विशेष अदालतमा दायर गरेको मुद्दामा उपाध्यायलाई ६ महिना कैद सजाय र १ लाख १७ हजार ५२० रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो । नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष तथा प्रेस चौतारी नेपालका पूर्वसचिव रहेका उपाध्यक्ष बाराबाट प्रकाशन हुने कृपा दैनिकका प्रकाशक तथा सम्पादक समेत हुन् ।
