काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)का अध्यक्ष रवि सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ जिल्लाको एक खण्डको ठेक्कामा अनियमितता भएको आरोपमा उनीविरुद्ध मुद्दा परेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण व्यवसायी सिंह, मध्यपहाडी लोकमार्ग योजना धुलिखेल कार्यालयका तत्कालीन योजना प्रमुख विजय चापागाईंसहित ५ जनाविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको बताएको छ । एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्काबाट एउटै प्रकृतिको काम ओभरल्याप गरिएको अख्तियारको भनाइ छ ।
एउटा ठेक्काबाट डीपीआर अनुसारको इष्टिमेट तयार भई भएको कामको भुक्तानी भइसकेपछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्काबाट काम गराई विल तयार पारी भुक्तानी लिने/दिने काम गरी ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५ पैसा हिनामिना गरिएको अख्तियारको दाबी छ ।
सिंह महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक हुन् । उनीविरुद्ध ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५ पैसा विगो माग दावी गरिएको छ ।
FACEBOOK COMMENTS