![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुन बनाउन सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल, एमालेका प्रमुख सचेतक पदम गिरीलगायतका सांसदहरुले भ्रष्टाचारलाई अन्त्य गर्नका लागि संकल्प लिएर अघि बढ्न सरकार र संसद् दुवैको ध्यानाकर्षण समेत गराए ।
एमालेका प्रमुख सचेतक गिरीले भ्रष्टाचारकै कारण मुलुक जर्जर भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्नका लागि सबै राजनीतिक दलहरुले पनि संकल्प लिएर अघि बढ्नुपर्ने बताए । उनले भ्रष्टाचार नियन्त्रणका लागि मुलुकमा विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने आवश्यकता औंल्याए ।
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पहुँचले काम नगर्ने गरी कडा कानुन बनाएर भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेमा जोड दिए । उनले भ्रष्टाचारकै कारण नेपालको छवि अन्तर्राष्ट्रिय क्षेत्रमा समेत राम्रो नभएको उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि कडा कानुनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए ।
सांसद पौडेलले भ्रष्टाचार नियन्त्रणमा हाम्रो सामाजिक मनोविज्ञान पनि दोषी रहेको औंल्याउँदै त्यसलाई पनि परिवर्तन गर्दै लैजानुपर्ने बताए । सांसद पौडेलले भ्रष्टाचार सम्बन्धी घटनाहरू तत्काल सार्वजनिक गर्ने र दोषीमाथि कडा कारबाही हुनुपर्ने बताए ।
FACEBOOK COMMENTS