काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतसहितको घुस प्रकरणमा सरकारी साक्षीका रूपमा पेस गरिएका २ जनाले बयान फेरेपछि उनीहरूलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।
अख्तियारका अनुसार मोही जग्गा दर्ता सम्बन्धमा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग २४ लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका आचार्यसहितलाई मुद्दा दायर गरिएको थियो ।
भक्तपुर, चाँगुनारायण नगरपालिका–४ का तेजबहादुर तामाङ र सानु कान्छा तामाङलाई सरकारी साक्षीका रूपमा पेस गरिएको थियो ।
उनीहरूलाई सजायमा पूर्ण छुट दिने गरी सरकारी साक्षी बनाएको भए पनि विशेष अदालतमा बकपत्रमा आयोगमा दिएको भन्दा उल्टो बयान दिँदै घुस/रिसवतको घटनालाई इन्कार गरेको अख्तियारले जनाएको छ ।
अदालतमा झुटो बकपत्र गरेर भ्रष्टाचार निवारणमा बाधा पुर्याएको अभियोगमा तामाङद्वयलाई प्रतिवादी कायम गरी साढे २४ लाख बिगोसहित जरिवाना र कैद सजायको माग गरिएको छ ।

FACEBOOK COMMENTS