सुर्खेत । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भई गएको भूकम्पबाट पीडित यहाँका पत्रकारलाई प्रेस काउन्सिल नेपालले निःशुल्क इन्टरनेट उपलब्ध गराएको छ ।
भूकम्पको गएको केही समयपछि जाजरकोट पुग्नुभएका सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले भूकम्पपीडित पत्रकारका लागि इन्टरनेट शुल्क सहयोग गर्ने प्रतिबद्धता गरिएको थियो । मन्त्री शर्माले गरेको प्रतिबद्धताअनुसार काउन्सिलको टोलीले जाजरकोटका २४ पत्रकार र केही सञ्चारमाध्यमलाई आर्थिक सहयोग गरेको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए । काउन्सिल पीडित पत्रकारको पक्षमासधैँ रहेको भन्दै अध्यक्ष बस्नेतले मिडिया विकास कोषबाट लाभ लिन आग्रह गरे ।
दूरदराजमा बसेर गरिएको पत्रकारिताले साँच्चिकै समाज रुपान्तरणका लागि ठूलो सहयोग पुगेको उनले बताए । त्यस्तै काउन्सिलले जाजरकोटका मिडिया हाउसको आज अनुगमन तथा निरीक्षण गरिएको छ ।
भूकम्पबाट क्षति भएको भेरीमालिका दैनिक, नेपालपोष्ट खबरलगायतका सञ्चारमाध्यमको अनुगमन गरिएको काउन्सिलका अधिकृत महेन्द्रराज सिंहले जानकारी दिए ।
अध्यक्ष बस्नेतले अब काउन्सिलले छिट्टै मिडिया हाउसको सूचीकृत प्रक्रिया अनलाइनबाट गर्न लागिएको समेत जानकारी दिए । रुकुमपश्चिमका पत्रकारलाई प्रतिव्यक्ति वा संस्थालाई रु नौ हजारदेखि १० हजारसम्म इन्टरनेट शुल्कवापतको रकम उपलब्ध गराइएको छ । सुर्खेतमा पनि संहितासम्वन्धी कार्यक्रमको आयोजना गरिएको छ ।
FACEBOOK COMMENTS