काठमाडौं । नेपाल अहिले एउटा विचित्र मोडमा छ । परिवर्तनको नाममा, विद्रोहको नाममा र ’नयाँ सोच’ को नाममा धेरै कुरा भइरहेको छ । तर, त्यसका बीचमा एउटा खतरनाक प्रवृत्ति मौलाउँदै गएको छ, असंयमित आलोचना र धम्कीपूर्ण संस्कार । विशेषगरी नयाँ पुस्ता, जसलाई हामी ’जेनजी’ भन्छौं, उनीहरूमा आफूलाई ‘ठिक’ सावित गर्न अरूको मनोबल तोड्ने, हरेक कुरा तुरुन्तै सामाजिक सञ्जालमा उछाल्ने, र आफ्नो असन्तुष्टि जनाउने हतारो हावी भएको देखिन्छ ।
अघिल्ला पुस्ताले ’कर्म गर, फल आफैं बोल्छ’ भन्ने विश्वासमा काम गरे । आज भने, हरेक कर्मभन्दा पहिले ‘पोष्ट’ आउँछ, र फलभन्दा पहिले ‘ट्रोल’। धैर्य, अनुशासन र बफादारीभन्दा तुरुन्तै परिणाम देखाउने मोह बढ्दो छ । कतिपय युवाले आफ्नो असन्तुष्टि तुरुन्तै सामाजिक सञ्जालमा पोख्छन्, र कहिलेकाहीँ संस्थाभित्रका अनुभवी कर्मचारीलाई ’पुरानो सोचका’ भनेर व्यङ्ग्य गर्छन् ।
कतिपय उच्च ओहोदामा राजनैतिक नियुक्ति होला, कर्मचारी तन्त्रमा व्यापक परिबर्तन जरुरी होला तर राष्ट्र र राष्ट्रियताको सवालमा कुनै पनि जेनजीले व्यक्तिगतरुपमा धम्कीको रुपमा गैरकानुनी तरिकाले थर्काउने धम्काउने गर्न हुदैन, वास्तविकता के हो भने, संस्थाको मेरुदण्ड नै अनुभवी कर्मचारी हुन् । उनीहरूको अनुभव, लगनशीलता र इमानदारी नै संस्थालाई स्थिर बनाउँछ । त्यस मेरुदण्डमा जब अनावश्यक दबाब, आलोचना र धम्की आउँछ, संस्थाको आत्मा नै कमजोर हुन्छ ।
अहिलेको नेपालको कार्यसंस्कृतिमा ’जहाँ पाए तेही जाने, जे भन्यो तेही गर्ने’ प्रवृत्ति बढ्दै गएको छ । यस्तो अवस्थामा कुनै पनि निर्णयमा गहिरो सोच, अनुसन्धान वा दीर्घकालीन दृष्टिकोण कम देखिन्छ । छोटो अवधिको लोकप्रियता र तात्कालिक प्रतिक्रियाले रणनीतिलाई विस्थापित गरेको छ ।
यो केवल सरकारी कार्यालयको समस्या होइन, यो राष्ट्रिय स्तरको प्रवृत्ति बनिसकेको छ । कसैले सत्य कुरा गरे भने ’पुरानो सोच’ भन्नु , जसले गर्दा योग्य, इमानदार र जिम्मेवार कर्मचारीहरूको मनोबल गिरिरहेको छ । जब कुनै संस्थामा इमानदार कर्मचारीको कदर हुँदैन, र चाकरी, डर, तथा गालीको वातावरण हावी हुन्छ, त्यसको प्रभाव संस्थाभन्दा टाढा, राष्ट्रसम्म पुग्छ। कर्मचारीको मनोबल घट्नु भनेको राष्ट्रको कार्यक्षमता घट्नु हो ।
हिजो दुई तिहाइको शक्ति भएका नेताहरू आन्दोलनको भुमरीमा परे । कुनै समय शक्तिशाली ठानिएका व्यक्तिहरू पनि कानुनको दायराभित्र आउन बाध्य भए । सन्देश स्पष्ट छ, कोही पनि कानुनभन्दा माथि छैन । जेनजीको नाममा अतिवादी बन्नु होइन, समयमै सचेत भएर सुधारको बाटो रोज्नु जरुरी छ, इतिहास मा सबैले एक दिन जवाफदेहि बन्नु नै पर्छ ।
हामीलाई नयाँ सोच त चाहिएको हो, तर त्यो सोच आदर, अनुशासन र संयममा आधारित हुनुपर्छ । जेनजीको ऊर्जा, सृजनशीलता र प्रविधि ज्ञान प्रशंसनीय छ, तर त्यसमा संस्कार र सहिष्णुता मिसिन जरुरी छ । कसैको सम्मान घटाएर आफू ठूलो देखिन खोज्नु सुधार होइन, अहंकारको रोग हो । देश बनाउने काम भाषण र पोस्टले होइन, निरन्तर इमानदार प्रयास र एकअर्काप्रति सम्मानबाट हुन्छ ।
नेपाललाई अहिले चाहिएको कुरा ’धम्काउने’ होइन, ’प्रेरित गर्ने’ नेतृत्व हो । हरेक युवा, कर्मचारी र नागरिकले आफ्नो कामप्रति गर्व गरि पारस्परिक आदर स्थापित गर्ने सक्ने वातावरण बनाउनु नै हाम्रो साझा जिम्मेवारी हो ।
FACEBOOK COMMENTS