काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने माग राख्दै सर्वोच्च अदालत परिसरभित्र र बाहिर पक्ष र विपक्षीमा आन्दोलन सुरु भएको छ । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गर्नेदेखि नेपाल बार एसोसिएसन २१ दिनदेखि आन्दोलनमा छ ।
आन्दोलनका कारण नागरिकको सर्वोच्चका न्यायाधीशहरूले मुद्दा हेर्न छाडेको भन्दै सोको विरोधमा सर्वोच्च अदालत बाहिर आइतबार न्यायालय बन्द गर्न पाइँदैन भनेर केही युवाको समूहले नाराबाजी गरे । पक्षविपक्षबीच दोहोरो झडप हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पार्दै आएको छ । जसका कारण दुई पक्षबीच झडपको स्थिति निम्ति सकेको छैन ।
गत शुक्रबारदेखि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश गर्न नदिने भन्दै कानुन व्यवसायीहरू आन्दोलनमा छन् । आइतबार पनि कानुन व्यवसायीले सर्वोच्च गेटमा धर्ना दिए । कानुन व्यवसायी प्रधानन्यायाधीशलाई रोक्न गेटमा बसे पनि प्रधानन्यायाधीश राणा भने वैकल्पिक गेट प्रयोग गरेर अदालत प्रवेश गरे । कानुन व्यवसायीको विरोधकैबीच प्रधानन्यायाधीश राणाले आइतबारका लागि दुई एकल र आठवटा संयुक्त इजलासमा २ सय ७२ वटा मुद्दाको पेसी तोके । पेसी तोकेको मध्ये तीनवटा मुद्दामा आदेश र एउटा मुद्दामा फैसला भएको छ ।
आइतबार कानुन व्यवसायीले राणाविरुद्धको आन्दोलनका क्रममा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश तानाशाह बन्न खोजेको बताए । उनले राणाले पदमा बस्ने नैतिकता गुमाइसकेको बताए । ‘सैनिक तानाशाहविरुद्ध पनि सर्वोच्चले आदेश जारी गर्छ । राजा ज्ञानेन्द्रविरुद्ध पनि यस्तै भयो । तर, प्रधानन्यायाधीशलाई पनि तानाशाह जसरी हटाउनुपरेको छ ।
बारको कार्यक्रमलाई बिथोल्न भाडाका मानिस ल्याउने काम भएको छ,’ कार्कीले भने, ‘यसरी बस्ने प्रधानन्यायाधीश कसरी सम्मानित हुन सक्छ ? प्रधानन्यायाधीशले कसरी आफैंले आफैंलाई सुनुवाइ गरिराख्नुभएको छ रु यस्तो अनैतिक व्यक्ति इजलासमा बस्न सक्दैन ।’
सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले आफूहरूको अन्तिम माग भनेको प्रधानन्यायाधीशको राजीनामा नै भएको बताए । उनले आफूहरूको आन्दोलनमा ‘ब्याकगियर’ नभएको बताएको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS