काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।
भिजिट भिसामा सेटिङमार्फत आर्थिक लेनदेन गरेर युवाहरू विदेश पठाउने गरेको आरोप लागेपछि माओवादीले मन्त्री लेखकलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न भनेको हो ।
सोमबार बसेको माओवादी पदाधिकारी बैठकले गृह मन्त्रालयअन्तर्गतका कर्मचारीहरूमाथि छानबिन सुरू भइसकेकाले गृहमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
उनले भने, ‘अहिले अध्यागमनमार्फत नेपालीलाई भिजिट भिसामा विदेश पठाउने कार्यमा गृह मन्त्रालयका कर्मचारी जोडिएका छन्, चौतर्फी आवाज आइरहेको छ, यस्तो अवस्थामा नैतिकताको आधारमा राजीनामा दिनुपर्छ, कांग्रेसका नेताहरूले समेत राजीनामा मागेका छन् । हाम्रो पार्टीको बैठकले पनि के निष्कर्ष निकालेको छ भने गृहमन्त्री लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ ।’
प्रवक्ता सापकोटाले गृहमन्त्री लेखकले तुरुन्त राजीनामा दिनुपर्ने र जति ढिला भयो उति नै राज्यको साख गिर्ने बताए ।
FACEBOOK COMMENTS