काठमाडौं । नेकपा एमालेले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको नियमित काम सुरु गरेको छ ।
मर्मतसम्भार गरी पुरानै भवनबाट पार्टीको काम सुरु गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । “पार्टी अध्यक्ष, उपाध्यक्ष, महासचिवको कार्यकक्ष मर्मत गरी बस्नु थाल्नुभएको छ”, उनले भने, “पार्टीका सबै कामकारबाही पुरानै भवनबाट सुरु गरिएको छ ।”
पार्टी महासचिव शङ्कर पोखरेल पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नै कार्यकक्षबाट सुरु गर्नुभएको छ । आगजनी र तोडफोड भएपछि एमाले कार्यालय टेन्ट टाँगेर सञ्चालन गरिएको थियो ।
कार्यालय सचिव डा अधिकारीले केन्द्रीय कमिटी बैठक सभाहल र अन्य साना केही कोठामात्र मर्मत गर्न बाँकी रहेको बताए । गत भदौ २४ गते भएको जेनजीको आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति भएको पार्टी कार्यालयको भवन प्रवलीकरण गरेर बस्न मिल्ने भनेपछि मर्मत गरिएको हो ।
गत भदौ २४ गते भएको जेनजीको आन्दोलनका क्रममा एमाले केन्द्रीय कार्यालयसहित देशभर ६४ पार्टी कार्यालयमा तोडफोड र १५८ भन्दा बढी नेता तथा कार्यकर्ताका निजी घर र व्यवसायसमेत क्षतिग्रस्त भएका थिए ।

FACEBOOK COMMENTS