काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले ‘झुलाघाट-चुवा भञ्ज्याङ’ अभियानका क्रममा सङ्कलित नागरिकका समस्या तथा सुझाव समेटिएको ज्ञापनपत्र मुख्यसचिव र विभिन्न मन्त्रालयका सचिवलाई बुझाएको छ ।
एमाले उपाध्यक्ष विष्णु पौडेल र एमाले पार्टीका मुख्य सचेतक पदम गिरीले आज सरकारका मुख्यसचिव डा वैकुण्ठ अर्याललगायत विभिन्न मन्त्रालयका सचिवलाई ज्ञापनपत्र बुझाए ।
एमालेले गत मङ्सिर १४ गतेदेखि पुस १ गतेसम्म बैतडीको झुलाघाटदेखि मेचीको चुवा भञ्ज्याङसम्मको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गरेको थियो । सो अवसरमा प्राप्त नागरिकका समस्या र सुझाव समेटिएको दस्तावेज आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममार्फत सरकारका सचिवहरुलाई बुझाइएको हो ।
उपाध्यक्ष पौडेलले मध्यपहाडी क्षेत्रमा पछिल्लो समय बसाइँसराइको गति तीव्र भएको, खेतीयोग्य जमिन बाँझो हुँदै गएको, घरहरु खण्डहरु बन्दै गइरहेको भन्दै बसाइँसराइ कम गर्न अध्ययन गरी काम अगाडि बढाउन आग्रह गरे ।
उपाध्यक्ष पौडेलले मध्यपहाडी लोकमार्गलगायत विभिन्न राजमार्गको काम अगाडि बढाउन र पहाडी क्षेत्रमा गर्न सकिने विकासका काम सरकारले यथाशीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिए । “पहाडी क्षेत्रमा बसाइँ सर्नेक्रम तीव्र छ, बसाइँसराइले पहाड रित्तिँदै छ, बसाइँसराइ रोक्न के गर्न सकिन्छ त्यसतर्फ सम्बन्धित मन्त्रालयको ध्यान जाओस्”, उनले भने ।
आज बुझाइएको ज्ञापनपत्र दराजमा मात्रै नथन्क्याउन र प्राप्त सुझावका आधारमा नागरिकका समस्या सम्बोधन गर्न उनले आग्रह गरे ।
मुख्यसचिव डा वैकुण्ठ अर्यालले ज्ञापनपत्रमा प्राप्त सुझाव महत्वपूर्ण हुने भन्दै सुझावअनुसार कार्यान्वयन गरिने उल्लेख गरे । उनले भने, “ज्ञापनपत्र दराजमा थन्क्याइने छैन, कुन मन्त्रालयबाट के गर्न सकिन्छ त्यो विषयमा छलफल गरी कार्यान्वयन प्रक्रियामा जानेछौँ ।”
FACEBOOK COMMENTS