सुर्खेत । कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच विवाद बढेको छ ।
सरकारको नेतृत्व गरिरहेको एमालेले कांग्रेसले गठबन्धन संस्कृति अनुरुप आफ्नो भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएको छ ।
सत्ता साझेदार दलको विवादका कारण आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको एक महत्वपूर्ण कार्यक्रम बीचमै स्थगित भएको छ । सरकारको कार्यक्रम नेपाली कांग्रेसले बहिष्कार गरेको थियो ।
शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्रालयले समपूरक, विशेष र सशर्त अनुदान सम्बन्धी कार्यविधि निर्माणका लागि प्रदेश सभा सदस्यहरूसँग सुझाव लिन कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रम सुरु हुनुअघि नै दुई दलबीच विवाद भएपछि कार्यक्रम नै सञ्चालन हुन सकेन ।
एमालेले काँग्रेसले सरकारमै रहेर प्रतिपक्षी दल जस्तो व्यवहार गरिरहेको आरोप लगाइरहेका बेला शनिबार सत्ता गठबन्धनको संयन्त्रको बैठक बसेको छ । बैठकले दुवै दलबीचको विवाद साम्य पार्ने प्रयासको रुपमा हेरिएको छ । बैठकमा मुख्यमन्त्री यामलाल कँडेलसहित कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही लगायतका नेताहरुले पछिल्लो विवाद बारे छलफल गरेका छन् ।
दुई दलबीच सत्ता सहकार्य भएको एक वर्ष बितिसक्दासमेत कर्णालीमा समधुर सम्बन्ध बनेको छैन ।
FACEBOOK COMMENTS