काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालैको निर्वाचन परिणामलाई जनताले पार्टीको नीति र नेतृत्वप्रति गरेको ‘शान्तिपूर्ण अस्वीकृति’ को रूपमा व्याख्या गरेका छन् ।
पार्टीभित्रको आन्तरिक सङ्कट र जनमतमा आएको ह्रासलाई लिएर सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले एमाले अहिले कठिन मोडमा भए पनि निराश हुनुपर्ने अवस्था नरहेको बताएका हुन् ।
भट्टराईले पार्टीको वर्तमान अवस्थाका लागि नेतृत्वको कार्यशैली र विगतका नीतिहरूलाई मुख्य जिम्मेवार ठहर्याएका छन् । ‘हामीले भभदौ २३ र २४ पछि लिएका कतिपय नीतिहरू ठीक छैनन् भनेर पटक–पटक महाधिवेशन र बैठकहरूमा कुरा उठायौँ, तर सफल भएनौँ,’ उनले भनेका छन् । सफलता र असफलताको भारी कार्यकारी भूमिकामा रहेका केन्द्रीय कमिटी, सचिवालय र विशेषगरी प्रमुख नेताले नै बोक्नुपर्ने उनको तर्क छ ।
यस्तै, पार्टीलाई पुनर्जीवित गर्न ‘सर्वाङ्गीण रूपान्तरण’ को खाँचो औँल्याउँदै उपमहासचिव भट्टराईले पार्टीका नेता–कार्यकर्ताहरूलाई हिजोका गुटगत घेराबाट बाहिर निस्कन आग्रहसमेत गरेका छन् । ‘हामी ढलेका मात्र हौँ, मरेका होइनौँ’ भन्दै उनले सही नीति, सङ्गठन र कार्यशैलीमार्फत एमाले पुन: उठ्ने विश्वास व्यक्त गरे ।
जनादेशको स्वीकारोक्ति, नीतिगत पुनरवलोकन, नेतृत्वको जिम्मेवारी, एकताको अपिल र सहकार्यको बाटोबाट एमाले अघि बढ्नुपर्नेमा उनको जोड छ ।

FACEBOOK COMMENTS