काठमाडौं । नेकपा (एमाले) ले त्रिपाल टाँगेर केन्द्रीय कार्यालय सञ्चालन सुरू गरेको छ । शनिबारदेखि त्रिपाल टाँगेर केन्द्रीय कार्यालय सञ्चालन गर्न थालिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
उनका अनुसार चमेना गृहको अगाडिपट्टिको भागमा अहिले त्रिपाल टाँगिएको छ। त्यहीँबाट केन्द्रीय कार्यालयको नियमित काम र नेता–कार्यकर्ता भेटघाट र जनसम्पर्कको काम हुने रिजालले बताए ।
‘हामीले त्रिपाल टाँगेर कार्यालय सुरू गरेका छौं। जलाइएको चमेना गृह पनि आइतबारदेखि सञ्चालनमा आउँदैछ। चमेना गृहको झ्याल मगाइसकिएको छ। ढोका तयार छ,’ उनले भने। गत भदौ २४ गते च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानसँग भाडामा लिएको भवन आन्दोलनकारीले जलाइदिएपछि एमाले कार्यालयविहीन थियो।
अहिले अस्थायी प्रबन्ध हुने गरी सञ्चालन गरिएको रिजालले बताए । भग्नावशेषमा परिणत भएको केन्द्रीय कार्यालय पनि मर्मत थालिएको छ । ‘अहिले अध्यक्ष, महासचिव लगायत पदाधिकारीको कार्यकक्ष रहेको ठाउँको मर्मत भइरहेको छ,’ उनले भने । यो पनि अस्थायी हो ।
एमालेको केन्द्रीय कार्यालय व्यवसायी मीनबहादुर गुरूङले दान दिएको जग्गामा बनिरहेको छ। भवन पनि गुरूङले नै बनाइदिन लागेका हुन् ।
यस वर्षको घटस्थापनाकै दिन उद्घाटन गर्ने भनिए पनि पछिल्लो आन्दोलन र राजनीतिक घटनाक्रमले विलम्ब हुन पुगेको एमालेले बताएको छ ।

FACEBOOK COMMENTS