काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को छैटौँ सचिवालयको आजको बैठक सकिएको छ ।
बैठकको बारेमा जानकारी दिँदै पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता प्रकाश ज्वालाले बैठकमा अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि जग्गा घोटाला प्रकरणमा आफविरुद्ध लागेको मुद्दाका विषयमा पार्टीमा जानकारी गराएको बताए ।
बैठकमा नेपाललाई मुद्दा लागेको विषय पार्टीविरुद्धको लगातार षड्यन्त्रको शृङ्खला भएको पार्टीको बुझाइ रहेको उनले बताए ।
बैठकले उखु उत्पादन गर्ने किसानलाई दिदै आएको अनुदान बन्द गर्ने सरकारको निर्णयको विरोध गर्दै सो अनुदान तत्काल सुचारू गर्न सरकारसँग माग गरेको छ ।
साथै, बैठकले धान रोपाइँको समयमा मल खाद नपाइएकाले तत्काल मलको व्यवस्था गर्न माग गरेको ज्वालाले जानकारी दिए । साथै, बैठकले प्राकृतिक विपदको तयारी गर्न सरकारसँग माग गर्दै आफ्ना पार्टीका नेता–कार्यकर्तालाई विपदको राहत र उद्धार कार्यमा खट्नका लागि तयार रहन निर्देशन दिएको ज्वालाले जानकारी दिए ।
साथै, बैठकमा समसामयिक राजनीतिक परिस्थिति, आन्दोलनको दोस्रो चरणको कार्यक्रमको विश्लेषण, यो बीचमा भएका पार्टीका अधिवेशनको समीक्षा र विभिन्न सङ्गठनात्मक एजेण्डामा छलफल भएको उनले जानकारी दिए ।
अर्को बैठक शनिबार बिहान साढे ८ बजेदेखि सुरू हुने उपाध्यक्ष ज्वालाले बताए ।
FACEBOOK COMMENTS