काठमाडौँ । स्वीजरल्याण्डको क्रेडिट स्वीस बैंकमा समस्या आएपछि युरोपका अन्य देशमा सञ्चालित बैंकहरुको सेयर मूल्यमा समेत गिरावट आउन थालेको छ । बेलायती समाचार संस्था बीबीसीका अनुसार स्वीजरल्याण्डको बैंकमा समस्या आएपछि युरोपका अन्य बैंकहरुको सेयर मूल्य समेत घट्न थालेको हो ।
गत सातामात्रै विश्वको आर्थिक महाशक्ति अमेरिकामा २ वटा बैंक टाट पल्टेका थिए । त्यसलगत्तै स्वीट्जरल्याण्डको क्रेडिट स्वीस बैंकमा आर्थिक समस्या आएको थियो । लगत्तै सोही बैंकको प्रतिस्पर्धी बैंक युनियन बैंक अफ स्वीजरल्याण्ड (यूएसबी)ले किनेको थियो । यूएसबीले क्रेडिट स्वीसलाई ३ बिलियन अमेरिकी डलरमा किनेको बीबीसीले उल्लेख गरेको छ ।
यो अमेरिकाको सिलिकन भ्याली बैंकपछि सबैभन्दा ठूलो बैंकिङ फेल्यूर भएको बताइएको छ । यससँगै, हङकङको हङसेङ इन्डेक्स ३ प्रतिशत र जापानको निक्की १ प्रतिशतले घटेको छ । क्रेडिट स्वीस बैंक स्वीजरल्याण्डको दोस्रो सबैभन्दा ठूलो बैंक हो । आर्थिक रुपमा सम्पन्न स्वीजरल्याण्डको दोस्रो ठूलो बैंक नै समस्यामा परेपछि विश्वभर विभिन्न अड्कलबाजी सुरु भएको छ ।
यससँगै, सन् २००८ मा विश्वभर छाएको आर्थिक मन्दीलाई सम्झन थालिएको छ । उक्त समयमा विश्वमा अहिलेसम्मकै सबैभन्दा डरलाग्दो आर्थिक मन्दीका रुपमा सम्झिइन्छ । जुन, यतिबेला उक्त रेकर्ड तोड्ने अड्कलबाजी सुरु भएको छ । स्वीट्जरल्याण्डको केन्द्रीय बैंकले क्रेडिट स्वीस बैंकको ‘टेकओभर’ वित्तीय समस्या आउन नदिनका लागि गरिएको उत्कृष्ट सम्झौता भनेको छ ।
स्वीजरल्याण्डको बैंक डुबेसँगै लण्डन स्टक एक्सचेञ्ज १.६ प्रतिशतले घटेको छ । लण्डनका सबैजसो बैंकका सेयर मूल्य घटेको छ । क्रेडिट स्वीस बैंककै बजार मूल्य शुक्रबारसम्म ८ बिलियन अमेरिकी डलर थियो । जबकी, यूएसबीले किन्दासम्म बजार मूल्य घटेर ३ बिलियन हाराहारीमा आइसकेको थियो । एजेन्सी
FACEBOOK COMMENTS