काठमाडौं । सुर्खेतमा रजिष्टर कार्यालय रहेको क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ ।
आईपीओ जारी गर्नका लागि कम्पनीको पहिलो साधारण सभाले कम्पनी सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । हिजो सोमबार सुर्खेतमा सम्पन्न भएको साधारण सभाले आइपीओ जारी गर्नेसम्बन्धी कार्यको जिम्मेवारी सञ्चालक समितिलाई दिएको हो ।
यस्तै, कम्पनीको प्रथम वार्षिक साधारण सभामा सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले मन्तव्यसहित कम्पनीको वार्षिक प्रतिवेदन पेश गरेका थिए भने सभाले सर्वसम्वत रूपमा पारित गरेको छ ।
सभाबाट सर्वसाधारणलाई कम्पनीको साधारण शेयर निष्काशन गर्ने तथा सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सभामा संस्थापक समूहबाट ऋषिराज मोर, मृदुला सरिया, रोहित करण बैद्य र विदुर पुरी कम्पनीको सञ्चालक पदमा र्निविरोध निर्वाचित भएका छन् ।
साथै, यसअघि नै स्वतन्त्र सञ्चालकमा पवित्र लाल चुकेलाई नियुक्त गरेको थियो । सभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गर्नाका साथै आर्थिक वर्ष २०८०/०८१ का लागि बाह्य लेखापरीक्षको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ ।
प्रथम वार्षिक साधारण सभामा प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप मान श्रेष्ठबाट स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
FACEBOOK COMMENTS