काठमाडौं । हुन्डाई मोटर्स इन्डियाले सन् २०२६ को फेब्रुअरीमा कार बिक्रीमा रेकर्ड बनाएको छ । कम्पनीले एक महिनामा हालसम्मकै धेरै कुल ६६ हजार १३४ युनिट सवारी बेचेको हो ।
जसमा ५२ हजार ४०७ युनिट घरेलु बजार र अन्तर्राष्ट्रिय बजारमा १३ हजार ७२७ युनिट बिक्री गरेको हो । हुन्डाईले हाल भारतमा १० मोडलका कार उपलब्ध गराएको छ । जसमा ८ मोडल आइस मात्र र २ मोडल ईभीमा उपलब्ध गराएको छ ।
हुन्डाईको घरेलु बजारको कुल बिक्रीमा दुई मोडल क्रेटा र भेन्युको मात्र हिस्सा ५४।२५ प्रतिशत रहेको छ । फेब्रुअरीको बिक्री तथ्यांक अनुसार हुन्डाईका कार मध्ये सर्वाधिक रोजाइमा क्रेटा एसयूभी देखिएको छ । ईभी र आइस दुवै भर्सनमा उपलब्ध क्रेटा एक महिनामै १७ हजार ९३८ युनिट बिक्री भएको छ । गत वर्षको सोही अवधिको तुलनामा क्रेटाको बिक्री १० प्रतिशतले बढेको छ ।
फेब्रुअरीमा दोस्रो धेरै हुन्डाई भेन्यु एसयूभी बिक्री भएको छ । पेट्रोल भर्सनमा उपलब्ध भेन्यु १ महिनामा १० हजार ४९४ युनिट बिक्री भएको छ । कम्पनीले हालै हुन्डाई भेन्युको फेसलिफ्ट मोडल बजारमा ल्याएसँगै यसले ग्राहक तानिरहेको छ ।
त्यस्तै, फेब्रुअरीमा हुन्डाई अउरा ६ हजार ७३३ युनिट, आइ २० ५ हजार ८५२ युनिट, ग्राण्ड आइ १० ५ हजार ५८९ युनिट, एक्सटर ४ हजार २०० युनिट, अलेक्जार ९०७ युनिट र भर्ना ६९४ युनिट बिक्री भएको छ ।

यो महिना आयोनिक फाइभ र कोना भने एक युनिट पनि बिक्री भएको छैन । हुन्डाईका चचिर्त मोडल क्रेटा र भेन्यु लगायत मोडल नेपाली बजारमा पनि उपलब्ध छन् ।


FACEBOOK COMMENTS