काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरूको तलब बढाएको छ । शनिबार र सोमबार बसेको क्यान कार्यसमिति बैठकले खेलाडीहरुलाई नयाँ वर्गीकरण गर्दै तलब पनि बढाउने निर्णय गरेको हो ।
क्यानको यो निर्णयसँगै ‘ए’ ग्रेडमा परेका ६ खेलाडीहरूले अब मासिक एक लाख रुपैयाँ तलब पाउने छन् । ‘ए’ ग्रेडमा कप्तान रोहित पौडेलसँगै सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुसल भुर्तेल परेका छन् ।
यस्तै ग्रेड ‘बी’ मा पर्ने खेलाडीको तलब मासिक ७० हजार पुर्याएको छ । ग्रेड ‘बी’ मा पनि ६ जना खेलाडी परेका छन् । कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र अविनास बोहरा ग्रेड ‘बी’मा परेका छन् ।
यस्तै नेपाल ‘ए’ का कप्तान विनोद भण्डारीसहित चार खेलाडी ग्रेड ‘सी’ मा परेका छन् । उनीहरूको तलब मासिक ५५ हजार तोकिएको छ । ग्रेड ‘सी’ मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जीसी परेका छन् । ग्रेड ‘डी’ मा परेका खेलाडीलाई मासिक ३५ हजार पारिश्रमिक दिने क्यानले निर्णय गरेको छ ।
ग्रेड ‘डी’ मा पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ रहेका छन् । बाँकी सात प्रदेशका इमर्जिङ क्याटोगरिका ७ खेलाडीले मासिक २५ हजार पाउने छन् ।
इमर्जिङ क्याटोगरीमा कोशीका दिपेश कँडेल, मधेशका रुपेश सिंह, बागमतीका रिजन ढकाल, गण्डकीका बिपिन खत्री, लुम्बिनीका देव खनाल, कर्णालीका अर्जुन घर्ती र सूदुरपश्चिमका हेमन्त धामी रहेका छन् ।
महिला टीममा कस्को तलब कति ?
क्यानले १९ महिला क्रिकेटरलाई पनि वर्गिकरण गरेको छ । उनीहरुको पारिश्रमिक भने पुरुषको भन्दा आधा कम छ । महिला क्रिकेटको ग्रेड एमा कप्तान इन्दु बर्मासँगै रुबिना क्षेत्री र सीता राना मगर छन् । ग्रेड बीमा कबिता कुँवर मात्र छिन् भने सी ग्रेडमा पूजा महतो र अश्मिना कर्माचार्य र ग्रेड डीमा अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र बिन्दु रावल परेकी छन् ।
इमर्जिङ क्याटगोरीमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कञ्चन श्रेष्ठ, रुबि पोद्दार, सृष्टि जैसी, सम्झनाकुमारी खड्का र सना प्रविन छन् ।
क्यानका अनुसार ग्रेड एमा पर्ने महिला क्रिकेटरले मासिक ५० हजार रुपैयाँ तलब पाउने छिन् भने बी ले ३५ हजार, सीले ३० हजार, डीले २५ हजार र इमर्जिङ क्याटगरीमा परेका क्रिकेटरले मासिक २० हजार तलब पाउने छन् ।
FACEBOOK COMMENTS