काठमाडौं । नेपालले एसीसी यू–१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा विजयी सुरूआत गरेको छ ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई ६ विकेटले पराजित गर्दै विजयी सुरूआत गरेको हो । सिङ्गापुरले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
नेपालका लागि प्रसिद्ध जैसीले अविजित ५५ रन बनाए भने रौनक श्रीवास्तवले ४० रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिङ्गापुरले ३६.१ ओभरमा अलआउट हुँदै १३८ रन बनाएको थियो । सिङ्गापुरका लागि कप्तान रियान नायकले सर्वाधिक ५३ रन बनाए भने आहान बुथानडमले ३८ रन बनाएका थिए ।
त्यस्तै, नेपालका कप्तान विपिन शर्माले सर्वाधिक ४ विकेट लिएका थिए । सचिन भट्टले २ तथा अभय यादव र शुभम खनालले एक–एक विकेट लिएका थिए ।
प्रतियोगिताअन्तर्गत अब नेपालले दोस्रो खेल जुन २४ मा जापानविरुद्ध, जुन २९ मा इण्डोनेसियाविरुद्ध र जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका छ ।
FACEBOOK COMMENTS