काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले आफूखसी चिकित्सा शिक्षाअन्तर्गत प्रमाणपत्र तहको सिट निर्धारण गरेपछि चिकित्सा शिक्षा आयोगले निर्णय नसच्याए कारबाही गर्ने चेतावनी दिएको छ ।
सीटीईभीटीले प्रमाणपत्र तहमा विद्यार्थी भर्ना तथा सिट निर्धारण गरेपछि आयोगले आपत्ति जनाएको हो । आयोगले सोमबार विज्ञप्ति जारी गरी सो निर्णय नसच्याए कारबाही गर्ने चेतावनी दिएको थियो । आयोगले आशयपत्र दिन गरेको निर्णयलाई अपव्याख्या गरी धमाधम सीटीईभीटीले सिट निर्धारण गरेपछि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
आशयपत्र प्राप्त गरेका चिकित्सा शिक्षा पठनपाठन गर्ने संस्थाले सम्बन्धनको सिफारिसको लागि आयोगमा निवेदन दिनुपर्नेमा सीटीईभीटीले सिट निर्धारण गरी शुल्कसमेत तोकेपछि आयोगले कारबाही गर्ने जनाएको हो ।
आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले आयोगको नियमावलीविपरीत मनोमानी ढंगले सम्बन्धन दिएर सिट तोकेपछि समस्या बढेको जिकिर गर्दै भने-‘आशयपत्र दिएपछि आयोगले समिति गठन गर्ने र नियमावलीको नियम ८ मा समितिको सिफारिसमा आयोगले स्वीकृत गर्ने कानुनी व्यवस्था छ । सो व्यवस्थाविपरीत सम्बन्धन दिइएको छ ।’
सीटीईभीटीबाट राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को जवरजस्ती रूपमा अपव्याख्या गर्ने, आयोगको निर्देशन पालना गर्न नपर्ने भनी आयोगमा पत्राचार गर्ने जस्ता भए गरिएका काम कारबाहीप्रति आयोगले आपत्ति जनाएको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS