रौतहट । रौतहटमा दुई समुदायबीच भएको विवादका कारण जारी कर्फ्यु आज पनि जारी रहने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म अत्यावश्यक कामका लागि कर्फ्यु खुकुलो गरेपनि त्यसपछि कफ्र्यु जारी रहने जनाएको छ ।
प्रशासनले रौतहटको पूर्वमा मुद बलवा गेट र पश्चिममा लालबकैया बाँधसम्म तथा उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्म कफ्र्यु लगाएको छ ।
गत बिहिबार गौर नगरपालिका–६ सपगडा टोलमा विवाहको बाजा बजाउँदै गइरहेका जन्तीमाथि फरक समुदायले अवरोध खडा गरेपछि भएको विवादले उग्र रूप लिँदा प्रशासनले कफ्र्यु आदेश जारी गरेको हो ।
शुक्रबार बिहानदेखि भएको झडप नियन्त्रणमा लिएर प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको नेतृत्वमा दुवै समुदायका अगुवाहरूले जिल्ला प्रशासन कार्यालय रौतहटमा छलफल गरेर ६ बुँदे सहमति गरेका थिए । शनिबार बिहानदेखि पुन: विवाद सुरु भई झडप र आगजनी सुरु भएको थियो ।

घटनापछि भारत–नेपाल सीमामा समेत कडाइ गरिएको छ। सीमा क्षेत्रमा बेरियर लगाइ गाडी आवागमन पूर्णरूपमा रोकिएको छ। नेपाली क्षेत्रबाट भारत प्रवेश गर्दा आधार कार्ड र भारतबाट नेपाल प्रवेश गर्दा नेपाली नागरिकता देखाउनुपर्ने प्रावधान लागू गरिएको छ।

FACEBOOK COMMENTS