काठमाडौं । जिल्ला प्रशासन कार्यलय पर्साले वीरगञ्जमा जारी गरेको कर्फ्यू आदेश हटाएको छ ।
प्रशासनले मंगलबार विज्ञप्ति जारी गरी ३:३० बजेदेखि नै लागु हुनेगरि कर्फ्यू आदेश हटाइएको जानकारी दिएको हो ।
सर्वपक्षीय बैठकले जिल्लाको शान्ति सुव्यवस्था सुदृढ हुँदै गएकोले कफ्र्यु आदेश हटाइएको छ । प्रशासनले सोमबारदेखि कर्फ्यू आदेश जारी गरेको थियो ।
सहमतिका बुँदा :
१- अन्य मुलुक वा स्थानमा घटेका घटना / दुर्घटनालाई लिएर वीरगन्जमा प्रदर्शन आन्दोलन नगर्ने प्रतिबद्धता व्यक्त गरियो । यसको सट्टा पिडीत पक्षले प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पेश गर्न जोड दिने, तत् पश्चात मात्र आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने ।

२- भविष्यमा हुन सक्ने धार्मिक, सामाजिक, सद्भाव विरुद्धका गतिविधिहरुलाई नियन्त्रण गर्न तथा आवश्यक कानूनी कारवाहीका लागि सिफारिस गर्न जिल्लास्थित क्रियासिल राजनीतिक दलहरु एवं विभिन्न धार्मिक समुदायका अगुवाहरु रहने तपसिल बमोजिमको स्थायी सद्भाव संयन्त्र गठन गरियो ।

क. धार्मिक समुदायबाट

१. हिन्दु तर्फबाट : रञ्जित साह र रञ्जन सिंह
२. मुस्लिम तर्फबाट : महमद महबुब अलि (शेरु) र अलि असगर मदनी ३. अन्य धार्मिक समुदायबाट पनि आवश्यकता अनुसार प्रतिनिधित्व रहने ख. जिल्लास्थित राजनीतिक दलहरुको तर्फबाट एक/एक जना प्रतिनिधि ग. नेपाल पत्रकार महासंघका अध्यक्ष
घ. नागरिक समाजको प्रतिनिधि
३- सबै प्रकारका मिडीयाकर्मीहरुलाई समाचार सम्प्रेषण गर्नुपूर्व धार्मिक साँस्कृतिक / सामाजिक सद्भावमा खलल नपुग्ने गरी सामाचार सम्प्रेषण गर्न अनुरोध गर्ने ।
४- धार्मिक, साँस्कृतिक, सामाजिक सद्भाव बिथोल्न दुरुत्साहन गर्ने समूह / आन्दोलनकारीलाई कानूनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने । साथै सबै पक्षले आ-आफ्नो समूहको तर्फबाट भएका कमजोरीको मनन गर्दै आ-आफ्नो समुदायका व्यक्तिलाई अनुशासन र आत्मसंयम तथा सद्भाव कायम राख्न प्रतिवद्धता व्यक्त गर्ने ।
५- यस बैठकमा उपस्थित सबै सस्था पक्ष/ अभियन्ता / महानुभावहरुले आजको यस निर्णयलाई आ-आफ्नो संस्थाको वेभसाइट, फेसबुक पेजमा राख्ने र सबैले यस निर्णयको पक्षमा विज्ञप्ति जारी गर्ने । साथै विद्यमान परिस्थितिलाई सहज बनाउन सबैले आ-आफ्नो स्थानवाट सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्दै थप विरोध कार्यक्रमहरु नगर्ने ।