काठमाडौँ । आर्थिक बर्ष २०८२–८३ को पहिलो ६ महिनामा ३५. १४ प्रतिशत बजेट खर्च भएको छ ।
अर्थ मन्त्रालयले सार्बजनिक गरको बजेटको अर्धबार्षिक मूल्यांकन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२– ८३ का लागि कुल १९ खर्ब ६४ अर्व ११ करोड बजेट विनियोजन गरिएकोमा पुस मसान्तसम्म ६ खर्च ९० अर्व २१ करोड ७८ लाख अर्थात ३५.१४ प्रतिशत खर्च भएको हो । जसमा विनियोजित रकममध्ये चालु खर्च वित्तीय हस्तान्तरणसहित ४१.२५ प्रतिशत भएको छ भने पुँजीगत खर्च केवल १२.१२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४०.९५ प्रतिशत खर्च भएको छ ।
समीक्षा अवधिको समग्र खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३९ प्रतिशतले वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ ।
पुँजीगत खर्च न्यून हुनाको प्रमुख कारणमा आयोजनाको पूर्व तयारीको अभाव, जग्गा प्राप्ति र वन क्षेत्रको उपयोगमा जटिलता र भदौ २३ र २४ को आन्दोलनका कारण भौतिक संरचनामा भएको क्षति आदि उल्लेख गरिएको छ ।
त्यस्तै सरकारले पूर्व तयारी नभएका र अनुत्पादक साना आयोजनाहरूमा विनियोजित १ खर्व १९ अर्व ५३ करोड ६५ लाख वजेट मन्त्रिपरिषद्को निर्णय अनुसार स्थगन गरिएको छ । जसमध्ये खरीद प्रक्रिया शुरु भई सकेका र विषयगत मन्त्रालयबाट औचित्य पुष्टपाईसहित फुकुवाका लागि अनुरोध भएको आधारमा ४२ अर्ब २८ करोड ३४ लाख फुकुवा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

त्यस्तै चालु आर्थिक वर्षमा कुल १४ खर्ब ८० अर्व राजस्व परिचालन गर्ने लक्ष्य राखिएको छ, जसमा सङ्घीय सरकारको हिस्सा १३ खर्च १५ अर्व रहने अनुमान छ । पुस मसान्तसम्मको ७ खर्ब ११ अर्व २० करोड ७८ लाखको लक्ष्यको तुलनामा विविध प्राप्ति समेत गरी ५ खर्व ८१ अर्ब ४० करोड ७२ लाख अर्थात् ८१.७५ प्रतिशत राजश्व संकलन भएको छ । समीक्षा अवधिको राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.४७ प्रतिशतले बढी रहेको छ ।

त्यसैगरी वार्षिक ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य रहेकोमा पुस मसान्तसम्म १ खर्व ७७ अर्व ६६ करोड ६९ लाख अर्थात् ४९.०८ प्रतिशत प्राप्त भएको छ । त्यस्तै सार्वजनिक ऋण भुक्तानी ऋणको साँवा व्याज भुक्तानीका लागि विनियोजित बजेटमध्ये पुस मसान्तसम्म १ खर्ब ८७ अर्ब १२ करोड ६६ लाख अर्थात् ४५.५३ प्रतिशत भुक्तानी भइसकेको मन्त्रालयले जनाएको छ ।

समीक्षा अवधिमा कुल ६५ अर्व ३९ करोड बराबरको विकास सहायता प्रतिवद्धता प्राप्त भएको छ, जसमा २९.४४ प्रतिशत अनुदान र ७०.५६ प्रतिशत ऋण रहेको छ । वार्षिक २ खर्व ८७ अर्व ११ करोड विकास सहायता परिचालन गर्ने अनुमान गरिएकोमा समीक्षा अवधिसम्म ६१ अर्व ७ करोड ३० लाख अर्थात् २१.२७ प्रतिशत मात्र वैदेशिक सहायता प्राप्त भएको छ ।

मन्त्रालयले क्षेत्रगत आधारमा सबैभन्दा बढी रक्षा क्षेत्रमा ४६.८३ प्रतिशत र सबैभन्दा कम वातावरण संरक्षण क्षेत्रमा ५.१६ प्रतिशत खर्च भएको जनाएको छ ।

समीक्षा अवधिसम्म विभिन्न मन्त्रालयहरूका आयोजनाका लागि २२ अर्ब १९ करोड ८० लाख बराबरको स्रोत सहमति प्रदान गरिएको छ भने आन्दोलनबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र अनिवार्य दायित्वलाई प्राथमिकतामा राखी अनुत्पादक खर्च कटौती र बैठक भत्ता जस्ता खर्चमा रोक लगाउने नीति लिइएको मन्त्रालयले उल्लेख गरेको छ ।
FACEBOOK COMMENTS