काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको पछिल्लो आर्थिक तथा वित्तीय अवस्थाबारे मासिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ ।
हिजो मंगलबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८१/८२ को दश महिनाको तथ्याङ्कमा आधारित प्रतिवेदन अनुसार मुलुकको पछिल्लो आर्थिक तथा वित्तीय अवस्था सुधारतर्फ अघि बढिरहेको देखिन्छ ।
केन्द्रीय बैंकका अनुसार मुद्रास्फीति २.७७% मा रहेको, सोधनान्तर स्थिति ४३८ अर्ब ५२ करोड बचतमा रहेको, आयात निर्यात बढेको, विप्रेषण आप्रवाह बढेको, विदेशी विनिमय सञ्चिति बढेको, विस्तृत मुद्राप्रदाय ६.६% ले बढेको र बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ६.२% र निजी क्षेत्रमा प्रवाहित कर्जा ७.३% ले बढेको छ ।
उपभोक्ता मुद्रास्फीति
२०८२ वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.४० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमश: ६.४१ प्रतिशत र ३.०९ प्रतिशत रहेको थियो ।
सरकारको चालु खाता बचतमा
नेपाल राष्ट्र बैंकका अनुसार सरकारको चालु खाता २५५ अर्ब ९३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १९३ अर्ब ३१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८९ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ४८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब २६ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा १० अर्ब ६० करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) ७ अर्ब ५ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति ४३८ अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३९२ अर्ब ६४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २३ करोडले बचतमा रहेको छ ।
विदेशी विनिमय सञ्चितिमा २३.१ प्रतिशतले वृद्धि
नेपाल राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति २३.१ प्रतिशतले वृद्धि भई २०८२ वैशाख मसान्तमा रु.२५१२ अर्ब ९५ करोड पुगेको छ । २०८१ असार मसान्तमा रु.२०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २३.१ प्रतिशतले वृद्धि भई २०८२ वैशाख मसान्तमा २५१२ अर्ब ९५ करोड पुगेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा २०.५ प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८४८ अर्ब ५५ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा १९.६ प्रतिशतले वृद्धि भई २२११ अर्ब ११ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १९२ अर्ब ५५ करोड रहेकोमा २०८२ वैशाख मसान्तमा ५६.८ प्रतिशतले वद्धि भई रु.३०१ अर्ब ८३ करोड कायम भएको छ । २०८२ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१–८२ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदाय सँगका अनुपातहरू क्रमश: ४१.१ प्रतिशत, १२१.४ प्रतिशत र ३३.८ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमश: ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।
विप्रेषण आप्रवाह १३.२ प्रतिशतले बढ्यो
आर्थिक वर्ष २०८१– ८२ को दश महिनामा रेमिटेन्स १३.२ प्रतिशतले वृद्धि भई १३५६ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स आप्रवाह १६.९ प्रतिशतले बढेको थियो । २०८२ वैशाख महिनामा रेमिटेन्स आप्रवाह १६५ अर्ब ३० करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा रेमिटेन्स आप्रवाह ११५ अर्ब ९९ करोड रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.१४७९ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३०१ अर्ब ७५ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ५ हजार ६१० र पुन: श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमश: ३ लाख ७३ हजार ३०७ र २ लाख ३६ हजार ३९८ रहेको थियो ।
आयात–निर्यात बढ्यो
यस आर्थिक वर्षको १० महिनामा १४७४ अर्ब १९ करोडको समान आयात भएको छ भने २१७ अर्ब ९१ करोड निर्यात भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०८१–८२ को दश महिनामा कुल वस्तु निर्यात ७२.७ प्रतिशतले वृद्धि भई २१७ अर्ब ९१ करोड पुगेको छ । राष्ट्र बैंकको रिपोर्टका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.६ प्रतिशतले कमी आएको थियो । राष्ट्र बैंकले गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमश: १०४.७ प्रतिशत, ५.१ प्रतिशत र ४.२ प्रतिशतले वृद्धि भएको जनाएको छ ।
जसमा वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, जुटका सामान, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, तयारी पोशाक, जुश, अलंैची लगायतका वस्तुको निर्यात घटेको छ ।
बैंकले आर्थिक वर्ष २०८१– ८२ को दश महिनामा कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई १४७४ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.४ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमश: ७.९ प्रतिशत, १५.१ प्रतिशत र २८.३ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल–धान, खाने तेल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, विद्युत्तीय उपकरण, रासायनिक मल, कोइला लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ जलेश्वर, कञ्चनपुर र तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात बढेको छ । आयाततर्फ भैरहवा, विराटनगर, वीरगंज, सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय लगायतका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
आर्थिक वर्ष २०८१–८२ को दश महिनामा कुल वस्तु व्यापार घाटा ६.७ प्रतिशतले वृद्धि भई १२५६ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.३ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १५२ अर्ब ४८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.१२२ अर्ब २ करोड बराबरको भएको थियो ।
पर्यटक आगमन घट्यो
सन् २०२५ को ५ महिनामा ५ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । राष्ट्र बैंकको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि मेसम्म ५ लाख एक हजार २६४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । रिपोर्टका अनुसार समग्रमा सन् २०२४ को तुलनामा यस वर्षको पाँच पहिनामा पर्यटक आगमनमा गिरावट आएको छ । २०२४ को पहिलो पाँच महिनामा ५ लाख ६ हजार २८० पर्यटक नेपाल आएका थिए ।
रिपोर्टका अनुसार जनवरीमा ७९ हजार ९९१ पर्यटक आएका थिए भने फेब्रुअरीमा ९६ हजार ८८०, मार्चमा एक लाख २१ हजार ६८७, अप्रिलमा एक लाख १६ हजार ४९० र मे महिनामा ८६ हजार २१६ पर्यटक नेपाल आएका थिए । सन् २०२४ मा कुल ११ लाख ४७ हजार ५६७ पर्यटक नेपाल आएका थिए ।
पूरा पाठ पढ्नुहोस्–
FACEBOOK COMMENTS