काठमाडौं । सरकारले भन्सारमा थन्किएका सवारी साधन व्यवस्थापनदेखि महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने विशेष योजना अघि बढाएको छ ।
मन्त्रिपरिषद्को शुक्रबारे बसेको पहिलो बैठकले शासकीय सुधारसम्बन्धी १०० कार्यसूची स्वीकृत गर्दै यस्तो निर्णय गरेको हो ।
सरकारले भन्सार कार्यालयहरूमा लामो समयदेखि थन्किएका सवारी साधनहरूको विवरण सङ्कलन गरी तिनीहरूको उचित प्रयोग, व्यवस्थापन वा आवश्यकताअनुसार लिलामी गर्ने व्यवस्था तत्काल मिलाउने निर्णय गरेको छ । यसबाट राजस्व सङ्कलनमा वृद्धि हुनुका साथै सार्वजनिक सम्पत्तिको प्रभावकारी उपयोग हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी, महिलाहरूको सुरक्षित यात्रालाई प्राथमिकता दिँदै सरकारले सातै प्रदेशमा निस्शुल्क ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने योजना अघि सारेको छ । पहिलो चरणअन्तर्गत आगामी १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याइने लक्ष्य राखिएको छ ।
सरकारको यस निर्णयले सार्वजनिक यातायात क्षेत्रमा सुधार ल्याउनुका साथै महिलाहरूको सुरक्षामा ठोस योगदान पुग्ने विश्वास गरिएको छ ।
