काठमाडौं । नेपाली कांग्रेसले सीमाक्षेत्रमा १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क अनिवार्य गरिएकोप्रति विरोध जनाएको छ ।
सरकारको यो निर्णयले सामाजिक न्याय र राष्ट्रिय एकतामा खलल पुग्ने दाबी गर्दै कांग्रेसले विरोध जनाएको हो ।
एक विज्ञप्ति निकाल्दै कांग्रेसले भनेको छ, ‘नेपालको सीमावर्ती क्षेत्रहरूमा हालै १०० रुपैयाँभन्दा बढी मूल्यका घरायसी तथा व्यक्तिगत प्रयोगका वस्तुमा अनिवार्य भन्सार शुल्क लिईरहेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।
यस्ता घटना वा सरकारी व्यवहारहरू जनविरोधी, अव्यवहारिक र असंवेदनशील मात्र होइन, वर्तमान आर्थिक संकटका बीच जनताको ढाड सेक्ने अर्को बोझ हो ।
खुला सीमाको अवस्थाका कारण सीमावर्ती क्षेत्रका नागरिकहरूले दैनिक उपभोग्य वस्तुहरू भारतबाट सस्तो मूल्यमा ल्याएर जीवन निर्वाह गर्दै आएको प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विशेषगरी मधेश प्रदेशका लाखौं सर्वसाधारण, ज्यालादारी मजदुर, साना किसान तथा निम्न आय भएका परिवार यस निर्णयबाट प्रत्यक्षरूपमा प्रभावित बन्ने दाबी कांग्रेसको छ ।

