सिन्धुपाल्चोक । चीन जोड्ने उत्तरी नाका तातोपानीबाट २ महीनायता न्यून मात्रामा सामग्री आयात भएको छ ।
अत्यधिक वर्षासँगै पहिरोले सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने मोटरबेल पुल र कोदारी राजमार्गकोे लार्चा–कोदारी बजार क्षेत्रको सडक भासिँदा गत १ असारदेखि नाका पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । चीनका विभिन्न व्यापारिक शहरबाट तिब्बतको खासामा आइपुगेका सामान सहज रूपमा तातोपानी भन्सारमा ल्याउन नसक्दा मजदूर अलपत्र परेका छन् ।
हाल खासाबाट दैनिक बढीमा दुई गाडी सामान मात्र आइरहेको छ । तातोपानी नाकामा काम गर्ने मजदूर संघका ५०० मजदूर २ महीनादेखि बेरोजगार छन् । ‘सडकका कारण खासाबाट सामान नआउँदा मजदूरले काम पाउन छाडेका छन्,’ तातोपानी भन्सार सुक्खा बन्दरगाह मजदूर संघका अध्यक्ष तेम्बोछिरी शेर्पाले भने, ‘कति मजदूर त नाका छोडेर हिँडिसकेका छन् ।’
खासाबाट कन्टेनर आउन छाडेकाले मजदूरले काम नपाएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए । ‘मजदूरले काम नपाउने समस्या त छँदै छ, सामान ल्याउन लागत समेत बढेको छ,’ भन्सार अधिकृत गौतमले भने, ‘खासा आइपुगेका सामान बोकेर ल्याउँदा लागत बढ्नुका साथै समय पनि खेर गइरहेको छ ।’ खासाबाट सीधै लार्चा सुक्खा बन्दरगाह ल्याइनुपर्ने सामान लिपिङपुल र कोदारीमा झारेर पल्टी गर्दा लागत बढेको उनले बताए ।
कोदारी राजमार्ग आंशिक रूपमा सञ्चालन भएसँगै अहिले लिपिङपुलमा मात्रै सामान झारेर मजदूरले बोकेर वारि तार्ने गरेका छन् । लिपिङपुलबाट बोकेर कोदारी कटाउँदा १ लाख २० हजार थप लागत बढ्ने गरेको व्यवसायीले बताएका छन् । ‘एक गाडी सामान ओसार्दा ४० हजारसम्म ज्याला दिनुपरेको गुनासो व्यापारीको छ भने मजदूरले काम नपाइएको भन्दै आएका छन्,’ भोटेकोशी गाउँपालिकाको अध्यक्ष राजकुमार पौडेलले भने, ‘नाकालाई व्यवस्थित गर्न र सडक सुचारुका लागि संघीय सरकारलाई आग्रह गरेका छौं ।’
सडक अवरुद्ध भएपछि सयौं मालवाहक कन्टेनर न्यालम, खासा हुँदै तातोपानी नाका भएर आएकाले सामान लिपिङबाट तुइन र बोकेर ल्याउनुपर्दा ढुवानी भाडा बढी पर्ने गरेको पौडेलले बताए । भूकम्पपछि चिनियाँ रेल्वे कन्स्ट्रक्शन कम्पनी लिमिटेड ९सीआरसीसी०ले कोदारी राजमार्गको अस्थायी मर्मत गर्दै आएको छ । तर, सीआरसीसीले बनाएको सडक १ महीना पनि नटिकेको पौडेलले बताए ।
सडक मर्मत नहुँदा तातोपानी भन्सार कार्यालयले साउनमा ७ करोड २१ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । असारमा भन्दा साउनमा राजस्व कम संकलन भएको भन्सार अधिकृत गौतमले बताए । ‘असारमा ११ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन भएको थियो,’ गौतमले भने, ‘तर साउनमा लक्ष्य अनुरूपको राजस्व उठ्न सकेन ।’ सडक मर्मत भई पूर्ण सुचारु हुने हो भो चाडपर्व नजिकिएकाले राजस्व संकलनमा बृद्धि हुने उनले भनाइ छ ।
२ महीनाअघि भत्किएको लिपिङपुल निर्माण भइरहेकाले राजमार्ग पूर्ण सञ्चालनमा आउन अझै केही समय लाग्ने सडक डिभिजन कार्यालय चरिकोटले बताएको छ । लिपिङपुलको दुवैपट्टि जगमा ढुंगा भरेर ग्याबिन उठाइएको छ । एक महीनादेखि सडक खुलाउन लागेको भन्दै कार्यालयका इन्जिनीयर विजय महतोले निर्माण पूरा हुन अझै २ साताभन्दा बढी लाग्ने आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS