रौतहट । केन्द्रीय साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत गरिएको साइबर बुलिङ प्रकरणमा रौतहटबाट एक जनालाई पक्राउ गरेको छ।
प्रहरी स्रोतका अनुसार रौतहटको गुजरा क्षेत्रबाट अभिषेक चौधरीलाई शनिबार बिहान नियन्त्रणमा लिइएको हो। पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि काठमाडौंस्थित ब्यूरो कार्यालयमा ल्याउने तयारी गरिएको छ।
उक्त प्रकरण अमिशा पराजुलीले दिएको उजुरीसँग सम्बन्धित रहेको जनाइएको छ। पराजुलीले सार्वजनिक रूपमा आफ्नो अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा लक्षित गरी साइबर बुलिङ गरिएको भन्दै प्रमाणसहित साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी थिइन्।
प्रहरीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। आवश्यक प्रमाण संकलन गरी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ ।
यसैबीच, उक्त घटनासँग सम्बन्धित गतिविधिपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएका छन् भने विषयमा सुरक्षा निकायले निगरानी बढाएको जनाएको छ ।
