डडेल्धुरा । आगामी चैत ८ गतेदेखि ‘डडेल्धुरा महोत्सव २०७८’ हुने भएको छ ।
अमरगढी नगरपालिकाको आयोजनामा ८ देखि १० चैतसम्म टुँडिखेलमा उक्त महोत्सव हुने भएको हो । हिजो आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै नगरपालिकाले महोत्सवबारे जानकारी दिएको हो ।
रजत जयन्तीको अवसर पारेर प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि महोत्सवको आयोजना गर्न लागेको नगर प्रमुख विशेश्वरप्रसाद ओझाले बताए ।
‘हामीले आफ्नो कार्यकालको अन्तिम समयमा महोत्सव गर्ने अवसर पाएका छौं । यो एउटा सुनौलो अवसर हो । महोत्सवले अमरगढीको मात्र नभएर डडेल्धुरासहित सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्नेछ,’ उनले भने, ‘सुदूरपश्चिमा थुप्रै पर्यटकीय स्थल भए पनि प्रचार–प्रसार हुन नसक्दा ओझेलमा परेको छ ।’
महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षण गर्ने नगर प्रमुख ओझाले जिकिर गरे । महोत्सवमा सुदूरपश्चिमको कला संस्कृतिको संरक्षणमा जोड दिइनेछ । प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि महोत्सवको आयोजना गरिन लागिएकाले कर्णाली पारिका कुनै पनि कलाकारलाई महोत्सवमा स्थान नदिइने ओझाको भनाइ छ ।
महोत्सवमा सुदूरपश्चिमका राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै हुडकेली, छलिया, डेउडालगायतका स्थानीय प्रस्तुति हेर्न सकिने छ । महोत्सव निःशुल्क हेर्न पाइने छ ।
FACEBOOK COMMENTS