काठमाडौँ । पुष्पकमल दाहालले ३२ वर्षदेखि नेकपा माओवादी (हाल नेकपा माओवादी केन्द्र) लाई एकल नेतृत्वमा हिँडाउँदै आएका छन् ।
२०४६ सालमा सिपी गजुरेल वरिष्ठ नेता हुँदाहुँदै मोहन वैद्यले दाहाललाई नेतृत्व हस्तान्तरण गरेपछि आजसम्म उनी अध्यक्ष छन्। आगामी पुस ११ देखि १३ सम्म हुने पार्टीको राष्ट्रिय सम्मेलनबाट पनि निर्विकल्परूपमा दाहाल नै अध्यक्ष हुने अवस्था देखिएको छ।
माओवादीबाट वैद्य, गजुरेल, बाबुराम भट्टराई र रामबहादुर थापा बाहिरिएपछि दाहाललाई तत्कालै चुनौती दिने कोही नभएकाले आगामी महाधिवेशनबाट पनि उनी सर्वसम्मत अध्यक्ष हुने माओवादी केन्द्रका नेता कार्यकर्ता बताउँछन्।
२०४६ सालमा नेकपा (मसाल) को महामन्त्री,२०४८ मा नेकपा (एकता–केन्द्र) को महामन्त्री, २०५१ मा नेकपा (माओवादी) को महामन्त्री,२०५७ मा अध्यक्ष र २०६५ मा एकीकृत नेकपा माओवादीको अध्यक्ष बनेका दाहाल अहिले पनि अध्यक्षको निर्विकल्प दाबेदार हुन्।
२०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टीको सबै अधिकार आफूमा केन्द्रित गरेका दाहालले २०६५ मा वैद्य र भट्टराईलाई उपाध्यक्ष तथा थापालाई महासचिव बनाएर माओवादीलाई बहुपदीय प्रणालीमा लगे पनि त्यो बीचमै तुहिएको थियो।

त्यसैले अहिले माओवादी नयाँ विधान ल्याएर पुनः बहुपदीय प्रणालीमा जान खोजिरहेको छ। माओवादीले लोकतान्त्रिक धारमा आएपछि बहुपदीय प्रणाली अपनाए पनि दाहालले सबै अधिकार आफू (अध्यक्ष) मा केन्द्रित गरेका थिए।

‘अहिले पनि मूल नेतृत्व (दाहाल) लाई चुनौति दिने अवस्था छैन, बाँकी पदाधिकारी कोको हुने भन्ने प्रतिस्पर्धा होला तर त्यो पनि सहमतिमै टुंगिन्छ’, माओवादीका एक नेताले भने। माओवादीभित्र धेरै नेताहरू दाहालको उत्तराधिकारीका रुपमा आएको भए पनि पार्टी विभाजन भएपछि भने दाहालमात्रै त्यसको हकदार देखिएका छन्।

पार्टी विभाजन हुनुअघि वैद्य,भट्टराई, गजुरेल र थापाले नेतृत्वमा दाबी गरेका थिए। तर उनीहरूले पार्टी छाडेपछि संगठन सुदृढ गर्ने भन्दै दाहालको विकल्प नखोजिएको नेताहरूले बताएका छन्। एकता केन्द्रबाट माओवादीमा आएका नारायणकाजी श्रेष्ठ अहिले भैरहेका नेताहरूभन्दा वरिष्ठ भए पनि उनलाई मूल नेतृत्व दिने पक्षमा कोही छैनन्।
माओवादी नेताहरूमा पम्फा भुसाल, वर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, शक्ति बस्नेत र देव गुरुङ नेतृत्वका लागि नयाँ अनुहार भए पनि उनीहरू अध्यक्षबाहेकका पदमात्रै दाबी गर्ने अवस्थामा छन्। बहुपदीय संरचनामा गएपछि श्रेष्ठलगायतका केही नेता उपाध्यक्ष रहने, पुन, शर्मा, बस्नेत, गजुरेललगायतले महासचिव दाबी गर्ने अवस्था रहेको आजको नागरिक दैनिकमा समाचार छ ।