काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशमा लगानीको वातावरण अनुकूल बनाउन नीतिगत सुधारको काम भइरहेको बताएका छन् ।
आज बिहीबार काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवस–२०८१ लाई सम्बोधन गर्दै उनले समयसापेक्ष ऐन–कानुन परिमार्जन गर्दै लगानी आकर्षित गर्ने प्रयासमा सरकार रहेको बताएका हुन् ।
उनले निजी क्षेत्र सरकारको उच्च प्राथमिकतामा रहेको पनि बताए । नीतिगत सुधारमार्फत सरकारले निजी क्षेत्रलाई सहजीकरणको प्रयास गरिरहेको बताए ।
निजी क्षेत्रलाई लगानी गर्न र उद्यमशीलता विकास गर्न सरकारले प्रोत्साहित गरिरहेको उनको भनाइ छ ।
महासङ्घको आग्रहमा लगानी सम्मेलनका बेला आठवटा कानुन परिमार्जन गरिएको बताउँदै मन्त्री भण्डारीले यसको कार्यविधि र नियमावलीसमेत बनाइएको बताए । साथै, केही समयअघि मात्रै २९ वटा थप कानुन सुधार गरेर लगानी आकर्षित गर्ने सहज वातावरण बनाइएको बताए ।
महासङ्घले लामो समयदेखि लगानी सम्झौताको विषय उठाउँदै आएकोमा मन्त्रिपरिषद्ले त्यसको खाका पारित गरिसकेको उनले जानकारी दिए ।
‘महासङ्घले द्विपक्षीय लगानी सम्झौताको विषय लामो समयदेखि उठाउँदै आएको थियो । सम्झौताको खाका मन्त्रिपरिषद्ले पारितसमेत गरेको छ,’ मन्त्री भण्डारीले भने, ‘लगानीको वातावरणलाई थप अनुकूल बनाउन सरकारले नीतिगत सुधारलाई निरन्तरता दिएको र लगानीसम्बन्धी ऐन–कानुनहरूलाई समयसापेक्ष बनाउने एकलबिन्दु सेवा प्रवाह प्रभावकारी बनाउने, विदेशी लगानी आकर्षित गर्ने विशेष पहलहरू गरेको छ ।’
FACEBOOK COMMENTS