काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवाहरूलाई आफूसँग भएको सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई सुझाव दिएका छन् ।
नेपाल जेसिजद्वारा काठमाण्डौंमा आयोजित ‘क्रियटिभ योङ अन्टरप्रेनर (सीवाईई) र पब्लिक स्पिकिङ च्याम्पियनशिप–२०२५’ मा बोल्दै उनले अधिकांश युवाहरूले विदेशमा मात्रै आफ्नो भविष्य देख्नु सुखद पक्ष नभएको बताए ।
उनले युवा उद्यमशीलता प्रवर्द्धनका लागि सरकारले केही कार्यक्रमहरू ल्याएको बताए । उनले भने, ‘गत आर्थिक वर्षमा २५ करोड रकम विनियोजन गरी १६५ जना उद्यमीहरूका लागी विना धितो ५ देखी २५ लाखसम्मको स्टार्टअप कर्जा प्रवाह गरेर व्यवसाय प्रवर्द्धनमा जोड दियौँ भने यस आर्थिक वर्षमा एक अर्ब रकम विनियोजन गरेकोमा उक्त कार्यक्रमका लागि ६६१ जना उद्यमीहरू छनोट भएका छन् । यो कार्यक्रम निरन्तर जारी रहन्छ ।’
उनले नवीनतम् सोच भएका युवा उद्यमीहरूलाई बिनाधितो न्यून ब्याजदरमा दिएको रकमले उद्यमशीलताको विकास भइरहेको बताए । गत वर्ष बैंकको जागिर छोडेर समेत स्टार्टअप कर्जा लिएका उद्यमीले राम्रो व्यवसाय सञ्चालन गरी उदाहरणीय काम गरिरहेको बताए । उद्यमशीलताका लागि सरकारले नीतिगत सहुलियत दिँदै आएको बताए ।
उनले उद्यमशीलता र युवा नेतृत्व विकासका लागि सरकार युवाहरूको साथमा रहेको बताए । युवा उद्यमीहरू देशको आर्थिक रूपान्तरणका मेरुदण्ड बन्न सक्ने बताउँदै सरकारले नीति तथा कार्यक्रममार्फत निरन्तर सहयोग गर्दै आइरहेको उल्लेख गरे ।
उनले भने, ‘युवाको सृजनशीलता र दृढ सङ्कल्पले हाम्रो अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउन सक्छ । यसका लागि हामीले ‘युवा उद्यमशीलता तथा रोजगार कोष’, ‘स्टार्टअप फण्ड’ र ‘इनोभेशन ग्रान्ट’ जस्ता कार्यक्रमहरू सञ्चालनमा ल्याएका छौँ ।’
उनले विश्वमा डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स जस्ता नवीनतम् प्रविधिहरूले व्यापार र उद्योग क्षेत्रमा आमूल परिवर्तन ल्याइरहेको बताए । उनले भने, ‘यस्तो परिवर्तनशील परिवेशमा हामीले हाम्रा युवा उद्यमीहरूलाई नवीनतम प्रविधि र व्यावसायिक मोडेलहरूसँग परिचित गराउनुपर्छ । उनीहरूलाई वैश्विक प्रतिस्पर्धामा टिक्न सक्ने क्षमताले सुसज्जित बनाउनुपर्छ । यसका लागि सरकारी निकाय, निजी क्षेत्र र जसिज जस्ता संस्थाहरूको संयुक्त प्रयास आवश्यक रहेको छ ।’
उनले आफ्नो मन्त्रालय युवा उद्यमीहरूलाई प्राविधिक सहयोग, वित्तीय पहुँच र बजार विस्तारमा सहयोग पुर्याउने विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए । उनले ‘मेड इन नेपाल’ अभियानलाई प्रोत्साहन गर्दै स्वदेशी उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने सरकारको रणनीति रहेको बताए ।
नेपाल जेसिजकी राष्ट्रिय अध्यक्ष रजनी थापाको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री भण्डारी प्रमुख अतिथि थिए ।
FACEBOOK COMMENTS