काठमाडौँ । दार्चुला पावर लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबरका साधारण शेयर (आईपीओ) सर्वसाधारणमा निष्काशन गर्ने तयारी थालेको छ ।
कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। सम्झौतापत्रमा दार्चुला पावर लिमिटेडका अध्यक्ष सतीस न्यौपाने र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार, कम्पनीले अंकित मूल्य रु १०० का दरले ३० लाख कित्ता साधारण शेयर जारी गर्नेछ, जसको कुल मूल्य रु ३० करोड हुनेछ । दार्चुला पावर लिमिटेड जलविद्युत् आयोजना विकास तथा सञ्चालनका लागि स्थापना गरिएको कम्पनी हो ।
यसले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको मार्मा गाउँपालिकास्थित चमेलिया खोलामा आधारित २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
रन–अफ–रिभर प्रकारको सो आयोजना आगामी डेढ वर्षभित्र निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । यस कम्पनीको प्रमुख प्रवद्र्धक तथा लगानीकर्ता अपि पावर कम्पनी लिमिटेड हो।
विद्युत् क्षेत्रमा स्थापित कम्पनीको रूपमा अपि पावरले यस आयोजनामा मुख्य शेयर स्वामित्व लिएको छ र परियोजना विकासका लागि आवश्यक स्वपूँजी लगानी गर्नेछ ।
FACEBOOK COMMENTS