जाजरकोट । डोल्पा त्रिपुरासुन्दरी–३ का राजेन्द्र कामी भारतबाट घर नपुग्दै उहाँको घरमा साहु तीन पटक पुगिसकेका छन् । भारत जाँदा भाडास्वरूप सापटी लिएको पैसा असुल गर्न कामीको घरमा साहु तीन पटक पुगेका हुन् ।
नेपाली रुपैयाँ बराबरको भारतीय रुपैयाँ दिने सम्झौता गरेका कामी अझै घर नपुगेको उनकी श्रीमती जयसरा कामीले बताइन। उनले भनिन्, “बारीमा फलेका स्याउ दैनिक बोकेर त्रिपुरानगरमा जान्छु, त्यहाँ दिनभरि १४ महिनाकी छोरीलाई च्यापेर बिक्री भएको पैसा जम्मा गरेर साहुलाई बुझाउने योजना छ । जाजरकोट र रुकुम पश्चिममा लाग्ने जात्रा तथा मेलामा स्याउ लिनका लागि ग्राहक आउने गर्छन्, अब तीन दिन बिक्री गरेमा साहुको पैसा तिर्ने जम्मा हुनेछ ।”
स्थानीय साहुबाट उनका श्रीमान् राजेन्द्रले रु चार हजार स्थानीय साहुबाट सापटी लिएका थिए । दसैँँमा जयसराका श्रीमान् घरमा पुग्ने वा नपुग्ने कुनै जानकारी छैन । तर उहाँको घरमा साहु भने तीन पटक आइसके । चार छोराछोरीसहित घरमा रहेकी उनको श्रीमान्सँग आधा महिनाअघि मात्र फोनमा सम्पर्क भएको थियो । दसैँँमा कमाइ भएमा जसरी पनि घरमा आउँछु भन्ने सन्देश छोडेका राजेन्द्रसँग आधा महिनादेखि श्रीमतीसँग सम्पर्क भएको छैन । उता श्रीमान् आए पनि, नआए पनि नेरु रुपैयाँको भारु रुपैयाँ असुल्न साहु पटकपटक घरमा आउँदा रिन कसरी तिर्ने भन्दै हैरान भएको जयसराको भनाइ छ ।
स्याउ बिक्री गरेको पैसाले दसैँमा नयाँ कपडासहित केही आवश्यक सामग्री खरिद गर्नेभन्दा पनि साहुको रिनले सताउँदा दसैँ आउनु र नआउनुमा आफूलाई केही फरक नभएको उनले पीडा पोखिन् । “परिवार साथमा छैन, अर्कोतिर रिनले च्यापेको छ”, उनले भनिन् ,‘ गरिबलाई चाडपर्व नआएकै राम्रो ।”
छिमेकीका छोराछोरीले रङ्गीचङ्गी कपडा लगाउँदा आफ्ना छोराछोरी खाली हुने हुन् कि भन्दै जयसराले दुखेसो गरिन् । “गाउँमा विकास निर्माणका कामहरु भइरहेका छन्, तर त्यहाँ पनि पहुँचवालाकै चुरीफुरी छ”, उनले थपिन् । दैनिक पाउने ज्यालामा समेत महिला भएकै कारण कम रकम दिने गरिएको उनले बताइन् ।
जयसराभन्दा कम पीडा छैन, मुड्केचुला–१ का सीता बोहराको पनि । वर्षैपिच्छे जन्मिएका छ छोराछोरी पालन गर्न दैनिक हैरानी हुँदै आएको उनी बताउछिन् । छोराको आसमा वर्षैपिच्छे छोरी जन्मिदा अन्तिममा छोरा भएको बोहरा परिवारमा अहिले दैनिक खर्च चलाउन मुस्किल छ । सीताका श्रीमान् दत्तबहादुर भारत गएको सात महिना भयो । सबै छोरीहरु विद्यालयमा पढ्छन् ।
“अन्तिममा जन्मिएको छोरा बल्ल नौ महिनाको भयो”, सीताले भन्नुभयो । नेरु रुपैयाँ दिएर भारु रुपैयाँ लिने गाउँका साहुबाट सीताका श्रीमान्ले पाँच हजार रुपैयाँ रिन काढेर भारत गएका थिए । दसैँमा फिर्ता गर्ने गरी लिएको उक्त पैसा दसैँका केही दिन बाँकी रहँदा साहुले घरमा दैनिक छिटो दिन ताकेता गरिरहेको सीताले बताइन् । श्रीमान् आएपछि दिइहाल्नुहुन्छ नि १ भन्दा साहुले ‘तिम्रो पोइ (श्रीमान्) कहिले आउँछ थाहा छैन, हामीलाई अरु ठाउँमा ब्याजस्वरूप ठेकी लगाउनु छ ।”
FACEBOOK COMMENTS