काठमाडौँ । ‘रोजीरोजी र छानीछानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्,’ न्यूरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसैगरी लोभ्याइरहेका छन् । तर, ग्राहकको सङ्ख्या भने पातलो छ ।
दसैँ र तिहारजस्ता चाडपर्वमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य हुन्छ । तर, यसपटक भने राम्रो व्यापार नभएको उनको अनुभव छ । उनी भन्छन्, ‘दुई/चार रूपैयाँ कमै नाफा खाएर सामान कटाउने योजना हो । तर, यसपालि व्यापार कम छ ।’
पर्वको मुखैमा प्राकृतिक विपतको असर बजारमा देखिएको उनको भनाइ छ । यद्यपि फूलपाती सुरू भएपछि व्यापार बढ्छ कि भन्ने उनको झिनो आशा छ ।
दसैँमा किनमेलका लागि न्यूरोडमा भेटिएकी नुवाकोटकी सुनिता छिनाललाई आफ्नो भन्दा छोराछोरीको खुसी महत्त्वपूर्ण लाग्छ । चिसो मौसम सुरू भएकाले दसैँमा छुटको मौका छोपेर बालबच्चाका लागि लुगाफाटा किन्ने गर्छिन् । ‘आफ्नो भन्दा छोराछोरीलाई दसैँमा खुसी पार्न पाए हुन्थ्यो भन्ने लाग्छ,’ उनले भनिन् ।
ठमेलमा किनमेल गर्न पुगेका गोपाल बुढाथोकीले यसपालि मूल घर सर्लाही नजाने बताए । बाढीपहिरोका कारण बाटो राम्रो नभएकाले आफू घर नजाने उनले बताए ।
‘काठमाडौँमा जे-जति परिवारका सदस्य छन्, सबै मिलेर यतै दसैँ मनाउने सोचमा छौँ,’ उनले भने, ‘किनमेल पनि भर्खरै सुुरू हुँदैछ ।’
उनले जाडोका लुगा भने दसैँको पर्व छोपेर खरिद गर्ने गरेको बताए । पर्वमा भारी छुट पाउने हुँदा उनलाई आवश्यक सामग्री किन्न मनपर्ने सुनाए ।
काभ्रेपलाञ्चोककी रोशनी तामाङले यो दसैँमा किनमेलमा खासै जोड नदिएको बताइन् । ठमेल कालापत्थरमा जाडोमा लगाउने ज्याकेट खरिद गर्न आएकी उनले सामान्य खर्चमा दसैँ टार्ने योजना रहेको सुनाइन् । गाँउ बाढीका कारण तहसनहस भएपछि उनलाई यसपालिको दसैँ मनाउने जाँगर चलेको छैन । दसैँ पनि काठमाडौँमै मनाउने योजना रहेको सुनाइन् । ‘आफन्ती सबै दुःखमा छन्, दसैँ मनाउनु कसरी ?,’ उनले भनिन् ।
भृकुटीमण्डपका व्यापारी जीवन राईले विगतको तुलनामा व्यापार आधा घटेको बताए । कोभिडको बेलामा जुन खाले आर्थिक मर्का परेको थियो, त्यस्तै असर बजारमा फेरि देखापरेको उनको अनुभव छ ।
‘मान्छेहरूको चहलपहल त छ, तर व्यापार सोचेजस्तो छैन,’ उनले भने ।
FACEBOOK COMMENTS