सफा गाढा नीलो आकाश, आकाशमा उडेका रङगी–बिरङगी चंगा अनि शीतल हावाले दशैं आगमनको सन्देश दिन्छ । दशैंको वातावरणले मनलाई कम रोमाञ्चित बनाउँदैन । चर्को घामबाट मुक्ति पाए लगत्तै परिवर्तित मौसमका साथमा घरपरिवारका सबै सदस्य मिलेर महान् चाड दशैंको स्वागत गर्नुको मज्जा नै अर्कै छ ।
दशैं रातो रंगसँग जोडिएको पर्व हो । त्यसैगरी उल्लासमय वातावरण, रातो टीका, हरियो÷पहँेलो जमरा अनि पिङ दशैं भन्नेबित्तिकै मानसपटलमा आइहाल्ने कुरा हुन् । दशैंको सुरुदेखि नै सरसफाइ, रंगरोगन एवं सजावटले गर्दा वातावरण अत्यन्तै आकर्षक, लोभलाग्दो र मनमोहक हुन्छ । वरिपरिको सफा वातावरण र मानिसहरूको चहलपहल तथा बजारमा रमझम बढ्न थालेपछि दशैं नजिकिएको आभास हुन्छ ।
धार्मिक, सांस्कृतिक, सामाजिक एवं आध्यात्मिक महत्वको अर्थ राख्ने चाड दशैं वर्ष दिनसम्म टाढा रहेका परिवारका सदस्य एवं आफन्तजनबाट टीका, जमरा र आशिर्वादका लागि भेला हुने एक शुभ अवसर हो । आफन्त भेटघाट तथा रमाइलो गर्ने अवसर दशैंले जुटाउँछ । दशैंलाई थकाइ मार्ने र आफन्त भेटघाट गर्ने समयका रूपमा पनि लिइन्छ ।
सुमार्ग एवं सुकर्ममा हिँडे सधैं विजयको स्वाद चाख्न सकिने कुरा दशैं पर्वबाट सिक्न सकिन्छ । वर्षभरिमा सिंगार्न नपाइएको आप्mनो घर, आँगन, बाटोघाटो रंगरोगन गर्ने एवं ध्वजापताकाबाट सिँगारिने, मर्मत गर्ने, नयाँ पोसाक लगाउने, मीठा–मीठा खानेकुरा खान पाइने, लामो बिदा हुने शुखद् चाडको रूपमा दशैं नेपालमा परिचित छ ।
दशैंमा लगाइने टीका, जमरा तथा दक्षिणाको आप्mनै महत्व छ । भगवतीको प्रसादका रूपमा टीका लगाए सुख–शान्ति हुन्छ । त्यस्तै पूजा गरेर उमारेको जमरा लगाउँदा पनि भलाइ हुन्छ भने दक्षिणा सगुन जस्तै हो । टीका लगाएपछि हात खाली राख्नु हुँदैन भनेर दक्षिणा दिने प्रचलन रहिआएको छ । यो आशीर्वाद पनि हो तर अहिले दक्षिणाको प्रतिस्पर्धाले दशैंलाई महँगो र बोझिलो बनाएको छ ।
दशैंमा सनातन धर्म संस्कृतिका सबै जात–जाति र सम्प्रदाय समानरूपमा शक्तिको उपासना गर्दछन् । उपासनाका शैली फरक हुनसक्छन् तर उद्देश्य सबैको एकै रहन्छ । सबैका लागि आ–आफ्नै शैली र परम्परा अनुसार शक्तिको आराधना गर्ने अवसर बनेर यो दशैं सबैका घरघरमा अनि परिवार र समाज हुँदै देशभरि भित्रिन्छ ।
यो परम्परा सुरु भएको आदिम समय खोज्न सजिलो छैन । अनादि समयदेखि यो परम्परा चल्दै आएको देखिन्छ । शक्ति उपासना गर्ने परम्पराको प्राथमिक चरण पहिल्याउन नसके पनि यो सृष्टि निर्माण हुनुअघि शेषशायी विष्णुले देवीको आराधना गरेको कुरा शास्त्रीय कथनमा पाइन्छ । क्रमशः शिव, ब्रह्मा आदिले शक्तिको उपासना गरेर नै शक्तिमान् बन्न पुगेका हुन् किनभने उनीहरूले शक्तिको उपासना गरेका कुरा उल्लेख छ ।
‘विष्णुना चरितं पूर्वं महादेवेन व्रह्मणा’ अर्थात् विष्णु, ब्रह्मा र महादेवले पहिले शक्ति उपासना गरेका थिए भनेर नारदले उल्लेख गरेका छन् । यिनै विशेष कारणहरूले शक्ति उपासनाको रहस्य खुल्दछ र उपासनाका विशेष दिनका रूपमा नवरात्रको महत्व रहेको हो । दशमीको दिन भन्दा अगाडिका नौ दिनहरू शक्ति उपासनाका दिनहरू हुन् । शक्ति उपासना नगर्ने कोही हुँदैन । शक्ति आएपछि मात्र शक्तिमान् हुने हो त्यसैले सारा देवताले शक्तिको उपासना गरेर नै शक्तिशाली वा शक्तिमान् भएका हुन् । यस्ता शक्तिका उपासना गर्ने विशेष दिनहरूमा शरद र वसन्तका नवरात्र महत्वपूर्ण मानिन्छन् ।
वैदिक कालमा महिषासुर नामको राक्षसलाई मारेर देवीले देव र मनुष्यहरूको सुरक्षा गरेको दिन यही दशमी भएकोले यसलाई विजया दशमी भनिएको हो । यसरी नै त्रेतायुगमा रामले रावणलाई निग्रह गरी विजय पाएको दिन पनि यही दशमी भएकोले पनि यसलाई विजया दशमी भनिँदै आएको हो । विशेषतः प्रवृत्तिगत रूपमा महिषासुर भनेको क्रोध र रावण भनेको अहंकार हो । क्रोधलाई जित्ने शक्ति दुर्गा हुन् भने अहङ्कारलाई जित्ने शक्ति भनेको राम हो । दशैंमा क्रोध र अहंकार जित्नु भनेकै देवी र रामलाई पाउनु हो । आध्यात्मिक दृष्टिमा दुर्गा र राम भनेका आत्मिक शक्ति र आनन्द हुन् ।
घटस्थापनाको दिनदेखि महानवमीसम्म नौ दिन हुन्छन् । दशमी तिथिको बिहानको समयसम्मको अवधिलाई गणना गर्दा नौवटा रात्री हुन्छन् त्यसैले यस समयलाई नवरात्र पनि भनिन्छ अर्थात् आश्विन र चैत्रशुक्ल प्रतिपदादेखि नवमीसम्मका दुर्गाभवानीका पूजाका नौ दिनलाई नवरथा भनिन्छ । अन्य दिनभन्दा नवरात्र विशेष हुुनुको कारण हरेक दिन अलग–अलग दुर्गाको पूजा गरिनु हो । घटस्थापनादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी चन्द्रघण्टा कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री गरी एकएक गर्दै नौ दिनसम्ममा नौ दुर्गाहरूको पूजा गरिन्छ । यसमा असोजशुक्ल अष्टमीमा महाकाली रूप प्रकट भएको हो भने चैत्रशुक्ल अष्टमीमा भवानी प्रकट भएको दिन भन्ने गरिन्छ । दुर्गा भनेकी शक्ति हुन् । दुर्गा शब्दलाई बुझाउन संस्कृतमा यसो भनिएको छः ‘दुर्गात्तारयसे दुर्गे तत्वदुर्गा स्मृता जनैः’ दुर्ग भनेको दुःख र संकट हो अनि तारयसे भनेको संकटबाट मुक्त गराउनु हो ।
यही कारणले दुर्गबाट मुक्त गराउने देवी भन्ने बुझाउने दुर्गा शब्दको प्रयोग गरिएको हो । नौ शक्तिको आराधना गर्नुपर्ने भएकाले नवदुर्गा भन्ने गरिन्छ । नवदुर्गा पूजा गर्दा हाम्रो घरपरिवारमा सुखसमृद्धि र स्वास्थ्य बढ्छ । शक्ति भनेको ऊर्जा हो । यो नौ दिन विशेष गरेर नौ ऊर्जाको माध्यम हुन् किनभने नौ दिन धर्तीबाट नौ प्रकारको उर्जा आउँछन् । तिनै ऊर्जा लिनको लागि पूजा आराधना गरिएको हो । दशमीमा जब दुर्गा विसर्जन गरिन्छ, विसर्जनपछि शक्तिको आराधनाबाट प्राप्त उर्जा व्यक्तिमा जमरा, पुष्प र टीकाका माध्यमबाट बाँडिन्छ । यस चाडको विशेषता भनेकै अग्रजहरूले यही प्रसाद बाँड्नु हो । यो प्रसाद बाँड्दा, टीकाप्रसाद लगाइदिँदा अग्रजहरूले यस्तो आशीर्वाद दिन्छन् :
आयुद्र्राेण सुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानंश्च दुर्याेधने ।।
दानं सूर्यसुते बलं हलधरे सत्यं च कुन्तिसुते ।
विज्ञाने विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
अर्थात् अश्वत्थामाको जस्तो आयु होस् । दशरथको जस्तो श्री ( प्रभाव र ऐश्वर्य) होस् । रामचन्द्रको जस्तो शत्रु नाश हुन् । नहुष राजाको जस्तो ऐश्वर्य (धन सम्पति) प्राप्त होस् । वायुको जस्तो गति होस् । दुर्याेधनको जस्तो मान–सम्मान होस् । कर्ण जस्तै दान गर्ने क्षमता होस् । बलरामको जस्तो बल होस् । युधिष्ठिरको जस्तो सत्यता रहोस् । विदुरको जस्तै नीति र ज्ञान प्राप्त हओस् र नारायणको जस्तै कीर्ति कायम रहोस् ।
FACEBOOK COMMENTS