काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले आधुनिक बिक्री प्रणाली केवल वस्तु वा सेवा बेच्ने प्रक्रिया मात्र नभई ग्राहकलाई बुझ्ने, मूल्य सिर्जना गर्ने, विश्वास निर्माण गर्ने र दीर्घकालीन सम्बन्ध विकास गर्ने कला भएको बताएका छन् ।
ग्रोथ लिडरशिप एकेडेमीद्वारा होटल सोल्टीमा शुक्रवार आयोजित सेल्स समिट कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।
अध्यक्ष अग्रवालले विगतमा सफल बिक्रीकर्मीहरू मुख्यत: अनुभव, अन्तज्र्ञान र व्यक्तिगत सम्बन्धमा निर्भर रहने गरेको उल्लेख गर्दै आजको प्रतिस्पर्धात्मक बजारमा प्रविधि, डेटा र डिजिटल इन्टेलिजेन्सको महत्व तीव्र रूपमा बढेको बताए ।
उनले भने, “आज हरेक ग्राहकसँगको अन्तरक्रिया आफैंमा महत्वपूर्ण सूचना हो। ग्राहकको रुचि, खरिद व्यवहार, डिजिटल संलग्नता, बजार प्रवृत्ति, प्रतिक्रिया र कारोबारसम्बन्धी तथ्यांकले व्यवसायलाई महत्वपूर्ण जानकारी दिन सक्छ ।”

डेटा आफैंमा सफलताको आधार नभएको उल्लेख गर्दै डेटा सही रूपमा विश्लेषण गरी उपयोगी जानकारीमा रूपान्तरण गर्नुपर्ने र उक्त जानकारीलाई ग्राहकको मूल्य तथा व्यावसायिक परिणाममा बदल्न सक्नुपर्ने उनले बताए ।

अध्यक्ष अग्रवालले भविष्यका बिक्री व्यवसायीमा डेटा संकलन र बुझ्ने, त्यसको बुद्धिमत्तापूर्वक विश्लेषण गर्ने तथा प्राप्त जानकारीलाई ग्राहकको हित र व्यावसायिक नतिजामा रूपान्तरण गर्ने क्षमता आवश्यक रहेको उल्लेख गरे ।
अध्यक्ष अग्रवालले कृत्रिम बुद्धिमत्ता (एआई) ले व्यवसाय र बिक्री क्षेत्रमा ठूलो परिवर्तन ल्याइरहेको बताउँदै एआईको प्रयोगबाट ग्राहकको आवश्यकता बुझ्न, मागको पूर्वानुमान गर्न, व्यक्तिगत रूपमा सञ्चार गर्न, सम्भावित अवसर पहिचान गर्न तथा बिक्री उत्पादकत्व वृद्धि गर्न सकिने बताए ।
उनले प्रविधिले उत्कृष्ट बिक्रीकर्मीलाई पूर्ण रूपमा विस्थापित गर्न नसक्ने धारणा राखे । “प्रविधि महत्वपूर्ण उपकरण हो, तर विश्वास, मानवीय सम्बन्ध, सहानुभूति र प्रभावकारी संवादको विकल्प प्रविधि मात्र हुन सक्दैन,” उनले भने ।
नेपालको आर्थिक रूपान्तरणमा दक्ष र सक्षम बिक्री तथा व्यावसायिक जनशक्तिको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अग्रवालले पर्यटन, जलविद्युत्, सूचना प्रविधि, कृषि, उत्पादन, वित्तीय सेवा, शिक्षा, खुद्रा व्यापार तथा सिर्जनात्मक उद्योगमा नेपालको ठूलो सम्भावना रहेको बताए ।

उनले राम्रो उत्पादन वा सेवा निर्माण गर्नु मात्र पर्याप्त नभएको उल्लेख गर्दै त्यसलाई नेपालभित्र र अन्तर्राष्ट्रिय बजारमा कसरी प्रभावकारी रूपमा पुर्याउने भन्ने विषय उत्तिकै महत्वपूर्ण रहेको बताए ।
“हाम्रो पर्यटन उद्योगले कसरी उच्च मूल्यका पर्यटक आकर्षित गर्न सक्छ ? नेपाली सूचना प्रविधि व्यवसायीले कसरी विश्व बजारमा डिजिटल सेवा बेच्न सक्छन् ? कृषि उत्पादनलाई कसरी अन्तर्राष्ट्रिय ब्रान्ड बनाउन सकिन्छ ?” उनले प्रश्न गर्दै यी विषय सरकारको मात्र नभई निजी क्षेत्रको समेत साझा जिम्मेवारी भएको बताए ।
अग्रवालले मानव पूँजी विकासमा विशेष जोड दिँदै प्रविधिले उपकरण उपलब्ध गराए पनि वास्तविक परिणाम मानिसले नै सिर्जना गर्ने बताए । नेपाललाई प्रविधिमा दक्ष, डेटा–आधारित, सिर्जनशील, नैतिक, ग्राहककेन्द्रित, परिवर्तनअनुकूल र उत्कृष्ट सञ्चार क्षमता भएका बिक्री व्यवसायी आवश्यक रहेको उनको भनाइ थियो ।
उनले शैक्षिक योग्यता मात्र आजको प्रतिस्पर्धात्मक बजारमा पर्याप्त नहुने उल्लेख गर्दै निरन्तर सिकाइ, व्यावहारिक सीप र व्यावसायिक नेतृत्व विकासमा जोड दिनुपर्ने बताए ।
अध्यक्ष अग्रवालले आधुनिक ग्राहक पहिलेभन्दा बढी सचेत र जानकारीसम्पन्न रहेको बताउँदै ग्राहकले उत्पादन, मूल्य, गुणस्तर र कम्पनीको प्रतिष्ठाबारे तत्काल जानकारी लिन सक्ने अवस्था रहेको बताए । त्यसैले व्यवसायमा विश्वास निर्माण र नैतिक बिक्री अभ्यास अत्यन्त महत्वपूर्ण भएको उनको भनाइ थियो ।
उनले युवालाई हरेक दिन नयाँ कुरा सिक्ने बानी विकास गर्न आग्रह गर्दै प्रविधि, डेटा विश्लेषण, सञ्चार, वार्ता कौशल तथा ग्राहक र आफ्ना असफलताबाट सिक्नुपर्ने बताए ।
“महत्त्वाकांक्षी बन्नुहोस्, तर नैतिक पनि बन्नुहोस्। प्रतिस्पर्धी बन्नुहोस्, तर सहकार्यको भावना पनि राख्नुहोस् । प्रविधिको प्रयोग गर्नुहोस्, तर मानवीय सम्बन्ध कहिल्यै नबिर्सनुहोस्,” उनले भने ।
अग्रवालले निजी क्षेत्र, शैक्षिक संस्था र व्यावसायिक एकेडेमीहरूले मिलेर नयाँ पुस्तालाई भविष्यको बजारका लागि तयार पार्नुपर्नेमा जोड दिँदै विचार आदानप्रदान, नेतृत्व विकास, प्रविधिको प्रयोग र व्यावसायिक सीप अभिवृद्धिमार्फत नेपालको आर्थिक विकासमा योगदान पुर्याउन सकिने बताए ।
उनले प्रत्येक चुनौती र असफलतालाई नयाँ अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै निरन्तर सिकाइ, आत्मविश्वास, नैतिकता र नवप्रवर्तनको संयोजनले नेपाली व्यवसाय र अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउन सकिने विश्वास व्यक्त गरे ।