काठमाडौं । आज २१ जुन अर्थात वर्षकै लामो दिन । आज पृथ्वीको दक्षिणी गोलार्द्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा लामो हुन्छ ।
नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समय अनुसार आजको दिन करिब १४ घण्टाको हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार काठमाडौंमा ५ बजेर १९ मिनेट जाँदा सूर्योदय भएको थियो भने साँझ ७ बजेर १ मिनेटमा सूर्यास्त हुनेछ ।
२१ जुनको दिन सूर्य पृथ्वीको उत्तरी गोलार्धस्थित कर्कट रेखामा सबैभन्दा माथि र सिधा पर्दछ । जसका कारण उत्तरी गोलार्धमा वर्षका अन्य दिनमा भन्दा २१ जूनको दिन लामो समयसम्म सूर्यको किरण पर्दछ ।
२१ जूनलाई उत्तरी गोलाद्र्धको देशमा गर्मीको सुरुवात पनि भनिन्छ । यद्यपि, यतिबेला दक्षिण गोलाद्र्धका देशमा ठिक विपरित हुन्छ, यहाँ यसलाई चिसो मौसमको सुरुवातको रुपमा हेरिन्छ ।
अर्थात् जतिबेला उत्तरी गोलाद्र्धका देश समर सोल्स्टिस मनाइरहेका हुन्छन् त्यतिबेला अष्ट्रेलिया, इन्डोनेसिया, दक्षिण अफ्रिका र ब्राजिलजस्ता दक्षिण गोलार्द्धका देशमा विन्टर सोल्स्टिस मनाइनेछ ।
२१ जून पछि नै दिन छोटो हुन थाल्छन् र रात लामो हुन थाल्छ । २१ सेप्टेम्बरमा रात र दिनको अवधि लगभग बराबर हुनेछ र २१ डिसेम्बरमा वर्षको सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात हुनेछ ।
सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतया जुन २०, २१ र २२ मध्ये कुनै दिन वर्षकै सबैभन्दा लामो हुन्छ ।
भोलिदेखि क्रमशः दिन छोटो र रात लामो हुँदै जान्छ ।
पृथ्वी सूर्यको वरिपरी घुम्दै गर्दा सूर्यको प्रकाश सधैँ सीधै भूमध्य रेखामा मात्र नपर्ने भएकाले पृथ्वीमा दिन लामो र छोटो हुने गर्छ ।
FACEBOOK COMMENTS