काठमाडौं । कृत्रिम बौद्धिकता (एआई), डिजिटल साक्षरता तथा जिम्मेवार प्रविधि प्रयोगको महत्व विश्वभर तीव्र रूपमा बढिरहेका बेला नेपालमा पनि युवा पुस्तालाई भविष्यमुखी डिजिटल सीप प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको ६ दिने “कन्टेन्ट सिर्जनाकर्ताका लागि एआई तालिम” सम्पन्न गरेको छ ।
फाउन्डेसन फर द फ्युचर (एफएफटीएफ) र ललितपुर महानगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन गरिएको तालिम मे १२ देखि १४ र मे १९ देखि २१ सम्म दुई चरणमा सम्पन्न भएको हो। कार्यक्रममा कक्षा १० र १२ उत्तीर्ण गरेका ४८ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
माध्यमिक तहका विद्यार्थीहरूलाई एआई सम्बन्धी व्यवहारिक ज्ञान, डिजिटल सिर्जनशीलता तथा जिम्मेवार प्रविधि प्रयोगसम्बन्धी सीप प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा एआई तथा मेसिन लर्निङ इन्जिनियर अतुल श्रीवास्तव, सफ्टवेयर इन्जिनियर तथा सूचना प्रविधि विज्ञ जगत ज्योति तुलाधर तथा फाउन्डेसन फर द फ्युचरका प्रतिनिधिहरूले सहजीकरण गरेका थिए।
तालिममा सहभागी विद्यार्थीहरूले च्याटजिपिटी, जेमिनी, नोटबुक एलएम, गामा, क्यान्भा एआई, हेजेन, इलेभेन ल्याब्स, सुनो, गुगल एआई स्टुडियो तथा पप्र्लेक्सिटी एआई लगायतका आधुनिक एआई उपकरणहरूको प्रयोगबारे व्यवहारिक अनुभव हासिल गरेका थिए। साथै एआई साक्षरता, प्रभावकारी निर्देशन लेखन, डिजिटल कथावाचन, बहुमाध्यम सामग्री निर्माण, भ्रामक सूचना तथा डिपफेकसम्बन्धी सचेतना, नैतिक एआई अभ्यास, डिजिटल सुरक्षा तथा जिम्मेवार अनलाइन व्यवहारजस्ता विषयमा प्रशिक्षण दिइएको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा ललितपुरको स्थानीय संस्कृति, सम्पदा तथा समुदायमा आधारित एआई सहयोगी कथावाचन तथा प्रस्तुतीकरण गतिविधि रहेको थियो। यस्ता गतिविधिमार्फत विद्यार्थीहरूले सिर्जनशीलता, अनुसन्धान, सञ्चार, समूहकार्य तथा समस्या समाधानसम्बन्धी सीप विकास गरेका थिए।

तालिमका क्रममा नेपालको साइबर कानुन, गोपनीयता संरक्षण, डिजिटल नैतिकता तथा तथ्य प्रमाणीकरणको महत्वबारे समेत जानकारी प्रदान गरिएको थियो। अन्तरक्रियात्मक कार्यशाला तथा व्यवहारिक प्रदर्शनमार्फत सहभागीहरूले एआईका अवसर, चुनौती र जिम्मेवारीबारे गहिरो बुझाइ हासिल गरेका थिए।

आयोजकका अनुसार तालिमअघि अधिकांश विद्यार्थी एआईको आधारभूत जानकारीमा मात्र सीमित थिए। तर ६ दिने प्रशिक्षणपछि उनीहरूमा आत्मविश्वास, सिर्जनशीलता तथा व्यवहारिक डिजिटल सीपमा उल्लेखनीय सुधार देखिएको छ। सहभागीहरूले अनुसन्धान, सामग्री निर्माण, कथावाचन तथा प्रस्तुतीकरणमा एआई उपकरणहरूको प्रभावकारी प्रयोग गर्न सिक्नुका साथै सञ्चार र समस्या समाधानका सीपसमेत विकास गरेका छन्।

कार्यक्रम समापनका अवसरमा सहभागी विद्यार्थी, प्रशिक्षक तथा आयोजक संस्थाबीच अनुभव आदानप्रदान, धन्यवाद ज्ञापन तथा सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो। साथै ललितपुर महानगरपालिकाभित्र एआई साक्षरता, जिम्मेवार डिजिटल नागरिकता र भविष्यमुखी डिजिटल शिक्षाको प्रवद्र्धनलाई थप सशक्त बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको आयोजकले जनाएको छ।