काठमाडौं । दुग्ध विकास संस्थानले किसानको भुक्तानी, दूधको गुणस्तर, बजारीकरण र वित्तीय अनुशासनमा सुधार गर्दै कार्यसम्पादन प्रभावकारी बनाएको जनाएको छ ।
संस्थानका अनुसार गत वर्ष करिब ६ महिना रहेको किसान भुक्तानी अवधि अहिले एक महिनाभित्र झारिएको छ । आगामी असोजभित्र भुक्तानी अवधि २५ दिनमा सीमित गर्ने लक्ष्य राखिएको छ ।
दूधको गुणस्तर सुधारका लागि फ्याट र एसएनएफको मापदण्ड परिमार्जन गरिएको छ । ७.८ प्रतिशतभन्दा कम एसएनएफ भएको दूधमा सहकारी सञ्चालनबापत दिइने टीएस रकम रोकिएको संस्थानले जनाएको छ ।
बजारीकरणतर्फ अघिल्लो आर्थिक वर्षको श्रावणको तुलनामा मोही बिक्री १३३ प्रतिशत, याक चिज ५० प्रतिशत र ताजा दूध २१ प्रतिशतले बढेको छ । दैनिक बिक्री राजस्व करिब ९० लाख रुपैयाँ पुगेको छ भने काठमाडौं उपत्यकामा २२ वटा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । संस्थानले दैनिक बिक्री राजस्व १ करोड २० लाख रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ ।
त्यस्तै, खाडी मुलुकमा वार्षिक कम्तीमा ५० मेट्रिक टन घिउ निर्यात गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार श्रावणको अन्तिममा ४२० किलो घिउ निर्यात गरिएको संस्थानले जनाएको छ ।

खर्च नियन्त्रणका लागि कम दूध संकलन हुने चिस्यान केन्द्रलाई नजिकका केन्द्रमा गाभ्ने, सहकारी संघबाट सिधै दूध खरिद गर्ने तथा वित्तीय र प्रशासनिक सुशासनलाई प्राथमिकता दिने नीति संस्थानले अघि बढाएको छ ।
