मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ रानीनगरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ ।
स्थानीय भोलासिंह क्षेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरको ट्वाइलेटको सेप्टिक ट्याङ्कीभित्र काम गर्ने क्रममा बेहोश भएका तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसारका विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ स्थानीय ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र २८ वर्षीय मोहम्मद राजाकाे बेहोश अवस्थामा उद्धार गरिएको थियो ।
उनीहरूलाई सेप्टिक टङ्कीभित्र बेहोश भई लडिरहेको अवस्थामा उद्धार गरी उपचारका लागि भैरहवा मेडिकल कलेज रूपन्देही पठाइएकमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृतकमध्ये दुई जनाको शव भीम अस्पताल भैरहवा रूपन्देहीमा र एक जनाको शव पृथ्वीचन्द्र जिल्ला अस्पताल नवलपरासी (पश्चिम) मा रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
FACEBOOK COMMENTS