काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ ताथली हनुमानटोलस्थित गणेश इँटा उद्योगको इँटाको झ्याउलीभित्र एक जना पुरुषको शव भेटिएको छ ।
नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष आज शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यसैगरी, कास्की, नुवाकोट, रोल्पा, पाँचथर, काभ्रेपलाञ्चोक, कैलाली र झापामा शुक्रबार र आज शनिबार मात्रै सात जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कास्कीको रूपा गाउँपालिका–७ स्थित मादीखोला किनारमा सोही ठाउँ बस्ने ५८ वर्षीय धन बहादुर परियार शुक्रबार मृत अवस्थामा फेला परेका छन् भने नुवाकोटको मेघाङ गाउँपालिका–२ बुङताङ बस्ने ७० वर्षीय लछिमन तामाङ घरनजिकै कोदोबारीमा आज शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै, रोल्पाको रोल्पा नगरपालिका–४ हाटबजार टोल बस्ने ४७ वर्षीया भावना हमाल आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् भने पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ कम्पुटार बस्ने बर्दिया गुलरीया नगरपालिका–८ घर भएका २९ वर्षीय मुकेश लोध आफ्नै कोठामा आज शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । लोध राँके, रवि र भेरेटार सडकमा काम गर्ने गरेको खुल्न आएको छ ।

यसैगरी, काभ्रे, मण्डनदेपुर नगरपालिका–१० हल्दे बस्ने ६५ वर्षीया कान्छी दमाई सोही ठाउँस्थित बारीमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् भने कैलालीको घोडाघोडी नगरपालिका–१ बेलार बस्ने ५७ वर्षीय मान बहादुर कुँवर सोही ठाउँस्थित आफ्नै खेतमा आजै मृत अवस्थामा फेला परेका छन् ।

झापाको मेचिनगर नगरपालिका–८ गिरी गाउँ बस्ने ३० वर्षीय हरि माझी सोही ठाउँस्थित घैलाडुब्बा खोलाको किनारामा शनिबार मृत अवस्थामा फेला परेका छन् । उनीहरू कसैको पनि मृत्युको कारण नखुलेको प्रहरीले जनाएको छ भने आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।