काठमाडौं । नेपाल ब्युटिसियन संघको प्रतिनिधि मण्डलले काँग्रेस सभापति शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । अध्यागमन विभागको बन्दना कर्णले संघका सदस्यमाथि पदको दुरुपयोग गरी विभिन्न लाल्छना लगाई व्यवसायीक वातावरणमा नै असर परेको भन्दै संघले देउवालाई ज्ञापन पत्र बुझाएको हो ।
संघले यस अघि गृहमन्त्रालयको सचिव दिनेश भट्टराई, उद्योगमन्त्री रमेश रिजाल , सभामुख देवराज घिमिरे लागयतलाई ज्ञापन पत्र बुझाइ सकेको छ । साथै संघले चरणबद्ध आन्दोलनको घोषणा पनि गरी सकेको छ ।
शाखा अधिकृत कर्णले फेसियल हाउसमा राखिएको सीसी क्यामेराले आफ्नो व्यक्तिगत गोपनीयतामाथि आँच आएको भनी महानगरीय प्रहरी वृत्त गौशलामा उजुरी दिएको र उक्त उजुरीमा आवश्यक अनुसन्धान भई सहमति भइसके पनि उनले पूर्वाग्रह ढंगले पेसामाथि हमला जारी राखेको बताइएको छ ।
सहमतिपछि पनि शाखा अधिकृत कर्णले आफ्नो पदीय दुरुपयोग गरी प्रहरी प्रशासनलाई प्रभावमा पारेर सुष्मा महरालाई फेरि झुठा मुद्दा लगाउन जोडबल गरिरहेको महासंघको आरोप छ । ‘मन्त्रालय मातहतको कर्मचारी भएको नाताले आफ्नो पदीय दुरुपयोग गरी गृह मन्त्रालय, गृहसचिव तथा महानगरीय प्रहरी परिसर, टेकुलाइसमेत आफ्नो प्रभावमा पारी एकपल्ट सहमति गरेको विषयमा हाम्रो यस संघका आजीवन सदस्य सुष्मा महराज्यूलाई पुनः झुठा मुद्दा लगाई प्रहरीमार्फत तत्कालै पक्राउ गरी गैर कानुनी रूपमा थुनामा राख्नका लागि जोडबल गरिआएको कुरा जानकारी हुन आएकाले यस गैर कानुनी कार्यप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ संघकी महासचिव शशी शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
शाखा अधिकृत कर्णले सुनियोजित रूपमा दुःख, हैरानी दिई पेसा तथा व्यवसाय नै बन्द गराउनका लागि राज्य शक्तिको दुरुपयोग गरेको संघको आरोप छ । संघले शाखा अधिकृत कर्णको यस्तो कार्य अविलम्ब रोकी उनलाई कारबाहीको माग गरेको छ ।
‘निज बन्दना कर्णले गरेको यस्तो गैर कानुनी क्रियाकलापलाई अविलम्ब रोकी कानुन हातमा लिनेलाई तत्कालै निलम्बन गरी पदीय आचरणको दुरुपयोगको कार्यमा कानुनबमोजिम हदैसम्मको कारबाही गर्न तथा हाम्रो यस संघमा आबद्ध रहनुभएका सदस्यहरूलाई सहज रूपमा सम्मानपूर्वक पेसा व्यवसाय सञ्चालन गर्न आवश्यक वातावरण बनाइदिनुहुन सम्बन्धित सरोकारवाला पक्षहरूसमक्ष संघ जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
फेसियल हाउसकी सञ्चालिका महराले सेवा लिन आएकी बन्दना कर्णले पैसा तिरेर निस्कने बेलामा उल्टो लाञ्छना लगाएको बताइन् । कर्णले सिङ्गो व्यवसाय र पेसाप्रति नै लाञ्छना लगाएको उनको भनाइ छ । उनले आफूले गल्ती गरेको खण्डमा सजायका लागि तयार रहेको बताएकी छिन् ।
FACEBOOK COMMENTS