काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गरे अनुसार आफ्नो पार्टीले विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्ने बताए ।
प्रतिनिधिसभाको आजको बैठकमा सभापति देउवाले प्रधानमन्त्री दाहाल संविधानको रक्षाको पक्षमा उभिन्छन् भन्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले मुलुकमा विद्यमान चुनौतीको सामाना गर्दै देश र जनताको हितमा काम गर्नुहुनेछ भन्ने विश्वासका साथ तत्कालका लागि उनले राखेका प्रस्तावको पक्षमा कांग्रेसले मतदान गर्ने सभापति देउवाले बताए । सभापति देउवाले भने, “सरकारलाई सदनकाप्रति र सदनलाई जनताकाप्रति पूर्णरुपले जवाफदेही बनाउनका लागि संसद्मा एक जिम्मेवार र सशक्त विपक्षी दलको उपस्थिति आवश्यक हुन्छ । प्रभावकारी विपक्षीको अभावमा सरकार निरकुङ्श हुन जाने, स्वच्छेचारी नीति कानुन बन्न सक्ने, सत्ता पक्ष आफ्नो कर्तव्यबाट बिमुख हुने, शक्ति पृथकीकरण र सन्तुलन कमजोर हुने सम्भावना रहन्छ ।”
संसद् आफैँ पनि देश र जनताको बृहत्तर हितमा काम गर्न सक्ने जन उत्तरदायी संस्थाका रुपमा नरहन सक्दछ । त्यसकारण आफूहरुले बहुलवाद र बहुदलीयतासहितको प्रतिस्पर्धात्मक संसदीय व्यवस्था रोजेको उनले बताए । सरकारको गठन गर्नु वा सरकार परिवर्तन गर्नु संसद्को एक महत्वपूर्ण काम भएको बताउँदै उनले सरकारमाथि निरन्तर नियमित रुपले निगरानी राख्नु, सरकारका सबै कामको अनुगमन गरी उचित मूल्याकङ्न गर्नु, सरकारका गुण र दोष केलाउनु पनि संसद्को कर्तव्य भएको उल्लेख गरे ।
देश र जनताका लागि सबै नीति र कानुनको निर्माण पनि संसद्को क्षेत्राधिकार भएको बताउँदै सभापति देउवाले संसद्मा प्रभावकारी प्रतिपक्षको अभावमा सरकार माथिको निगरानी र अनुगमनको पद्धति कमजोर र सरकारको गुण र दोषका विषयमा छलफलको अभाव हुने बताए ।
कांग्रेस विपक्षी दलका रुपमा रहने सो अवसरमा सभापति देउवाले उपरोक्त सबै विषयलाई गम्भीरतापूर्वक दृष्टिगत गरी कांग्रेसले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा सहभागी नहुने र सङ्घीय संसद्मा प्रमुख विपक्षी दलका रुपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको जानकारी गराए । उनले आफू प्रतिपक्षमा रहदा विरोधका लागि विरोध वा समर्थनका लागि समर्थन गर्ने छैनौँ भनी स्पष्ट पारे । सरकारका काम कारबाहीहरुको सूक्ष्म रुपले मूल्याङ्कन गरी गुण र दोषका आधारमा विश्लेषण गरेर आफ्नो धारणा बनाउने उनको भनाइ थियो ।
सोही आधारमा समर्थन र विरोधको नीति निर्धारण गर्ने उनले बताए । उनले विपक्षी दलका रुपमा काम गर्ने केही सैद्धान्तिक र नीतिगत विषयका बारेमा बताउँदै विपक्षी दलका रुपमा काम गर्दा हाम्रा केही यस्ता साझा राष्ट्रिय सरोकारका विषय छन् जसमा हामी सबैले साझा धारणा निर्माण गर्न आवश्यक रहेको छ भने । “महत्वपूर्ण तथा राष्ट्रिय सरोकारका विषयमा राजनीतिक दलहरुबीच संवाद, सहमति र सहकार्यको मार्ग अवलम्बन गर्नुपर्दछ भन्ने कांग्रेसको दृढ मत छ । कांग्रेसले हिजोका दिनमा तत्काल देशका सामु विद्यमान जटिल चुनौतीको सामना गर्न संवाद, सहमति र सहकार्यमा जोड दिएको इतिहास ताजा छ ।
यसै मूलमन्त्रका कारण दसवर्षे सशस्त्र सङ्घर्षको विषमपूर्ण अवस्थाबाट शान्तिवार्ताका माध्यमले हामीले मुलुकलाई शान्तिमा रुपान्तरण गर्न सफल भयौँ”, सभापति देउवाले भए , “संविधान निर्माणको क्रममा हाम्राबीच निकै ठूला मतभेद वा मतभिन्नता थिए, तथापि संवाद सहमति र सहकार्यका माध्यमले संविधान प्राप्त भयो ।”आज पनि देशका सामु निकै चुनौती विद्यमान रहेका, संविधानको रक्षा गर्नु र संविधानको सार्थक कार्यान्वयन अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उनले यसका निमित्त सरकारले संविधानको मर्म र भावनाको उच्च सम्मान गरेर सोही अनुरुप इमान्दारीपूर्वक कार्य गर्न आवश्यक रहेको छ भने । सभापति देउवाले सदनमा रहेका राजनीतिक दलहरुसँगको सहमति र सहकार्यमा आवश्यक नीति र कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखोस् भन्ने आग्रह गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुरक्षा र सबलीकरण अर्को महत्वपूर्ण कार्य हो भने ।
यसतर्फ सरकारका काम कारबाही सकारात्मक हुन सकुन भन्ने अपेक्षा गर्दै उनले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि सबैको साझा लक्ष्य रहेको उल्लेख गरे । सरकार इमान्दार भई काम गर्न जरुरी छ भन्दै उनले छिमेकी देश र मित्रराष्ट्रहरुसँग सन्तुलित र सुमधुरसम्बन्ध कायम राख्नुपर्ने धारणा व्यक्त गरे ।
“नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हकहरु कार्यान्वयन हुनसकेका छैनन् । श्रमिक, किसान र गरिब जनताका समस्या समाधानका लागि काम गर्नुछ । विश्वव्यापी कोभिडको महामारी लगायतका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको छ । यस क्षेत्रमा सरकारले विशेष ध्यान दिन जरुरी छ । अर्थतन्त्रलाई उकास्ने ठोस् नीति, योजना र कार्यान्वयन ठोस प्रतिबद्धताको आवश्यकता छ । उनले भने , “यी सबै कार्यसम्पादन गर्न राजनीतिक स्थायित्व चाहिन्छ । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुनासाथ प्रतिनिधिसभाको विघटन हुनु सामान्य र स्वाभाविक हुन्छ भन्ने जस्ता प्रत्युत्पादक छलफलमा प्रवेश गर्नुभन्दा प्रतिनिधिसभाले पूर्ण कार्यकाल काम गर्नुपर्छ र हामी सबैले मिलेर गर्न दिनुपर्छ भन्ने संविधानको मर्म र भावनाअनुरुप हाम्रा व्यवहार केन्द्रित हुनुपर्दछ ।”
प्रतिनिधिसभाको सोमबार बसेको पहिलो बैठकमा नेकपा एमालेका अध्यक्ष तथा वर्तमान सत्ता गठबन्धनका नेताको सम्बोधनमाथि आफूहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सभापति देउवाले भने , “उनले संविधानको पूर्णकालीन संसद्को व्यवस्थाको विपरीत फेरि पनि संसद् विघटन गर्न सकिने कुरा जोडदार रुपमा दोहो¥याउनु भएको छ । संविधानको पालना र रक्षाका लागि हिजोका दिनमा वर्तमान प्रधानमन्त्रीसहित हामी एक ठाउँमा उभिएका थियौँ ।
सर्वोच्च अदालतले पनि संविधानको व्यवस्थाअनुरुप विघटित संसद्को पुनःस्थापना गरेको थियो ।” संविधानको रक्षाका लागि खरो रुपमा उभिने चुनौती हाम्रो सामुन्ने आएको उनको भनाइ थियो । साथै उहाँले वर्तमान प्रधानमन्त्रीको लागि पनि यो परीक्षणको घडी हो भन्नुभयो । उनले भने, “हामीले पहिलो निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने गरी मिश्रित निर्वाचन प्रणाली अपनाएका छौँ । मिश्रित निर्वाचन प्रणालीले देशको सबै भूगोलको बसोबासका साथै सबै लिङ्ग, वर्ग, जाति, समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ । जसले हामी यो सदनलाई सिङ्गो नेपालका रुपमा देखिराखेका छौँ । यो सदन नेपालको ऐना भएको छ ।”
यो मिश्रित निर्वाचन प्रणालीको सुन्दर पक्ष भएको उल्लेख गर्दै उनले यो प्रणालीमा कुनै एक मात्र दलले प्रतिनिधिसभामा बहुमत ल्याउन सक्ने अवस्था प्रायः नहुने र मिश्रित निर्वाचन प्रणालीले गठबन्धनको संस्कृतिलाई आमन्त्रण गरेको बताए । गठबन्धनको संस्कारमा अभ्यस्त हुँदै जानुको विकल्प नरहेको उनको भनाइ थियो ।
FACEBOOK COMMENTS