काठमाडौँ । नेकपा एमालेका नेता सूर्य थापाले पार्टीभित्र देखिएको बहस र आलोचनालाई संयमित रूपमा समीक्षा गर्नुपर्ने बताएका छन् । उनले मिडिया र सडकमा गालीगलौज गरेर सही निष्कर्षमा पुग्न नसकिने उल्लेख गरेका छन् ।
निर्वाचनमा नेकपा एमालेको लज्जास्पद हारपछि सामाजिक सञ्जालमा नेतृत्वले राजीनामा दिनुपर्ने बहस चर्किन थालेपछि थापाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
उनले थापाले पार्टीभित्रका विषयमा स्थापित आन्तरिक अभ्यासअनुसार नै छलफल र समीक्षा हुनुपर्ने बताएका हुन् । साथै उनले पार्टी महाधिवेशनमा अस्वीकृत भइसकेका विषयलाई आधार बनाएर पुन: चलखेल गर्नु बुद्धिमानी नहुने समेत बताएका छन् ।
थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाम आफूहरूका लागि अनपेक्षित रहेको बताउदै देशको दीर्घकालीन हितविपरीत बाह्य प्रभाव, दुष्प्रचार र ठूलो लगानीका कारण यस्तो अवस्था सिर्जना भएको दाबी गरेका छन् ।
उनले समयक्रममा ती गतिविधिहरूको वास्तविकता खुल्दै जाने उल्लेख गरेका छन् । उनले निर्वाचनमा हारजित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै प्राविधिक रूपमा घोषित परिणामलाई स्वीकार गरिएको बताएका छन् । तर राजनीतिक घटनाक्रमको विश्लेषणका आधारमा अहिले देखिएको परिणाम अस्थायी मात्र हुन सक्ने उनको धारणा छ ।
थापाले अहिलेको अवस्थामा पार्टीभित्र संयम र विवेकका साथ समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । विरोधी शक्तिहरूको प्रभावमा परेर अनावश्यक विवाद सिर्जना नगर्न पनि उनले नेताकार्यकर्तालाई आग्रह गरेका छन् ।

उनले वर्तमान अवस्था राष्ट्र र जनताका लागि साझा चुनौती भएको उल्लेख गर्दै यस्तो परिस्थितिमा एकताबद्ध भएर मात्र समस्याको सामना गर्न सकिने बताएका छन् ।

FACEBOOK COMMENTS