काठमाडौं, १९ भदौ । नाटकमा एक जना होटेलका साहु थिए । अर्की त्यहाँ काम गर्ने महिला ।
अचानक आइपुगेका विदेशी ग्राहकले नौलो परिकारहरू मगाउँछन् । काम गर्ने महिला खानाको खोजीमा निस्कन्छिन् । साहु एक्लै भएको मौकामा लुटेराहरू पस्छन्, पैसा माग्छन् । र, शुरू हुन्छ पात्रहरूबीच द्वन्द्व र सङ्घर्ष ।
आफूले मागेको रकम नपाएपछि लुटेराहरूले बन्दुक चलाउँछन् । बन्दुकबाट छुटेको गोली बोल्छ ‘ओहो, अब म उ त्यो मान्छेको छातीमा लाग्छु ।’
गोली पनि कहीँ बोल्छ त ?
‘बोल्छ । पेन्टोमाइममा गोली लगायत अन्य वस्तु बनेका कलाकारहरू बोल्छन्,’ कलाकार सरस्वती चौधरीले भनिन् । चौधरीका अनुसार सन् २०१२ मा स्विट्जरल्यान्डका एक नाट्य निर्देशक र कलाकार नेपाल आएका थिए ।
टोलीले नेपाली कलाकारहरूसँग मिलेर पेन्टोमाइम शैलीको नाटक गर्ने भयो । त्यसका लागि केही दिनको कार्यशाला सञ्चालन गर्यो । छलफल र अन्तर्क्रियामार्फत् पेन्टोमाइमबारे बुझाइयो । आवश्यक तयारी पछि निर्माण भयो नाटक ‘के गर्ने ?’
नाटकमा कलाकार थिइन् चौधरी । नाटकको कथा सार सुनाउँदै आफ्नो कुरा राखेकी उनले भनिन्, ‘झन्डै एक दशकअघि हामीले पेन्टोमाइम गर्दा नेपालीका लागि नौलो विषय थियो । यत्रो वर्षपछि पनि कलाको यस विधा नौलो नै रहेछ ।’
हास्य रियालिटी सो कमेडी च्याम्पियनको एक अङ्कमा बिक्की अग्रवालको ‘पेन्टोमाइम’ प्रस्तुतिपछि चर्चामा आयो अभिनयको यो शैली । अग्रवालको प्रस्तुतिमाथि कलाकार सन्तोष पन्तले जनाएको प्रतिक्रियाले त झन् सामाजिक सञ्जालमा पेन्टोमाइमबारे बहस नै छेड्यो ।
सामाजिक सञ्जालमा चुलिएको चर्चाकै कारण बिक्कीको प्रस्तुति हेरेकी सरस्वतीलाई पन्तको प्रतिक्रियाले दुःखी तुल्यायो ।
पन्तले भनेका थिए, ‘हरेक ठाउँको आफ्नो–आफ्नो स्वाद हुन्छ । हाम्रो हाँस्ने शैली र विदेशीको हाँस्ने शैली फरक छ । हो तिमीले नयाँ प्रयोग गर्यौ त्यसको लागि बधाई छ । तर, हाम्रो समाजले अझै पनि यसलाई बुझ्दैनन् । मैले त बुझिन, अरूको के कुरा ।’ कोही नहाँस्नुलाई उनले समस्याको रूपमा व्याख्या गरेका थिए।
‘प्रस्तुति हेरेर नहाँस्न पाइन्छ वा नरुचाउन पाइन्छ तर यो विधा नै कसैले बुझेका छैनन् भन्न पाइँदैन,’ चौधरीले भनिन्, ‘नेपालमा यस विधा पढेर आएका प्रशिक्षक छैनन् होला तर अध्ययनका आधारमा नाट्यकर्मीहरूले यसको प्रयोग गर्दै आएका छन् ।’
मुख बङ्ग्याउनु वा कसैको ‘क्यारिकेचर’ गर्नुलाई मात्र हाँसोको विषय मान्नुका कारण कलाको अन्य विधाबारे छलफल नभएको चौधरीको बुझाइ छ । बिक्कीको प्रस्तुतिसँगै शुरू भएको बहसका कारण भने अभिनय र कमेडीको विविध आयामको अध्ययन, अभ्यास र प्रयोग हुनेमा उनी सकारात्मक सुनिन्छिन् ।
के हो पेन्टोमाइम ?
पेन्टोमाइम अभिनयको एउटा विधा हो। विशेषतः नाट्य अभिनयअन्तर्गतको हास्य विधा । दर्शक हँसाउनु यसको विशेषता हो । तर, हँसाउनका लागि बाक्लो संवादको प्रयोग यसमा वर्जित मानिन्छ । सङ्गीतमय माहौलमा कलाकारले कुनै विषय माथि नबोलीकन हास्य शैलीमा प्रस्तुति दिन्छन् ।
पेन्टोमाइमको सुरुवात दन्त्य कथाहरू भन्न गरिएको थियो । कथा भन्ने पात्रले विशेष किसिमको शृङ्गार र भेशभूषाको प्रयोग गर्छन् । कलाकारहरूले अस्वाभाविक हाउभाउ र सङ्केतहरूको प्रयोग गरेर दर्शकलाई मञ्चसँग जोडिराख्छन् । कतिपय अवस्थामा पृष्ठभूमिको सङ्गीतलाई पनि कथावाचन थप सशक्त तुल्याउन प्रयोग गरिन्छ । कथावस्तुकै कारण कलाकार र दर्शकबीच अन्तर्क्रिया पनि हुन्छ ।
जोनी म्याकनाइट बेलायती पेन्टोमाइमका लेखक, निर्देशक एवं कलाकार हुन् । उनी कलाको यस विधालाई दर्शकको फेरिने रुचि अनुकूल भएको बताउँछन् ।
उनले भनेका छन्, ‘पेन्टोमाइम गर्दा मजाक अरू कसैमाथि हुनु हुँदैन । बरु कलाकार स्वयंमाथि हुनु पर्छ ।’
कहाँबाट शुरू भयो ?
पेन्टोमाइमको इतिहास केलाउँदै जाने हो भने पाँच सय वर्षभन्दा पनि पुरानो भएको बताइन्छ । बेलायतमा यो विधा प्रख्यात भए पनि इटलीमा १६औँ शताब्दीमा यस हाँस्य कलाको सुरुवात भएको विश्वास गरिने कलाकारहरू बताउँछन् । त्यति बेला मानिसहरू सानो समूहमा जम्मा हुन्थे र विभिन्न सहर र बजार गएर सडकमै अभिनय गर्थे । प्रयोगात्मक शैली अपनाउँदै कथा भन्थे । त्यतिबेलाका हास्य मिथकका पात्रहरुमाथि त्यस्ता अभिनय हुने गर्थे । परिस्थिति अनुरूप तत्काल अभिनय र घटनाक्रममा फेरबदल गरिन्थ्यो ।
इटलीसँगै फ्रान्समा पनि कलाकारहरू सहर परिक्रमा गर्दै प्यान्टालोन, जोकर पिय्रोट र कोलम्बिना, नोकर अर्लेचिनो लगायतका पात्रसँग प्रेम गर्ने युवतीको बारेमा कथा भन्दै हिँड्थे । चाड पर्वमा हर्षोल्लासका लागि यो अभिनय प्रस्तुत गरिन्थ्यो भनिन्छ ।
१८औँ शताब्दीमा मात्र अभिनयको यस विधा बेलायतको रङ्गमञ्चमा अभ्यास हुन थालेको हो । त्यति बेला ‘हार्लेक्वीनेड्’ नामले चर्चामा आएको विधालाई पेन्टोमाइमको शुरूवाती स्वरूप मानिन्छ । त्यसपछि बिस्तारै यो अभिनयको विधाको रूपमा चर्चित र स्थापित हुन थालेको देखिन्छ ।
फेरिँदै पेन्टोमाइमको स्वरूप
पहिले दन्त्य कथाहरू र मिथकहरू मात्र पेन्टोमाइमको विषय हुन्थे भने हाल समसामयिक र राजनीतिक घटनाक्रम पनि यस हास्य विधामा समेटिन थालेका छन् ।
विषयवस्तुमा आएका परिवर्तनसँगै यस विधाका लक्षित दर्शक फेरिनु स्वाभाविक भयो । पहिले, बालबालिकाका लागि रमाइलो माहौल सृजना गर्न उनीहरूले बुझ्ने कथाहरूलाई हँसाउने शैलीमा प्रस्तुत गरिन्थ्यो । विशेष गरी इशाइहरूले मनाउने क्रिशमस, नयाँ वर्ष, इस्टरलगायत पर्वहरूमा भव्यताका साथ आयोजना हुन्थे भनिन्छ ।
अब हरेक उमेर समूहका लागि यो मनोरञ्जनको माध्यम बनेको छ । रङ्गमञ्चदेखि अन्य कार्यक्रमहरूमा यो देखाइन्छ । पेन्टोमाइम देखाउन अब कुनै विशेष पर्व नै कुरिरहनु पर्दैन ।
पेन्टोमाइमको स्वरूप फेरिँदै जाँदा यसमा पृष्ठभूमिमा बज्ने गीत र सङ्गीतको प्रयोग बढेको छ ।
केनेथ एलन टेलरले ६० वर्षभन्दा बढी पेन्टोमाइम गरिसकेको तथ्याङ्क छ । उनले सन् १९५९ मा पहिलो पटक यो अभिनय गरेको बताइन्छ । उनी अभिनयसँगै पेन्टोमाइम लेखन र निर्देशनमा पनि सक्रिय छन् । समयसँगै पेन्टोमाइमको स्वरूप फेरिँदै गए पनि टेलरले आफूलाई आफ्ना कथा र विषयवस्तु परम्परागत ढाँचामा निर्माण गर्न नपर्ने बताएका छन् । ‘किनकि पेन्टोमाइम नाट्य इतिहासको एउटा अंश हो ।’
माइम र पेन्टोमाइमबारे निर्णायकहरू अस्पष्ट
फिल्मकर्मी एवं कमेडी च्याम्पियनका एक निर्णायक प्रदीप भट्टराईले बिक्की अग्रवालको प्रस्तुतिलाई ‘आँट’को संज्ञा दिए । भट्टराईले ‘माइम गर्नु’लाई जोखिम मोल्नुसँग तुलना गरे ।
त्यस्तै अर्की निर्णायक ऋचा शर्माले आफूले युरोपमा अभिनय पढ्दा ‘माइम’ पनि पढेको जनाउँदै भनिन्, ‘माइम भनेको संवेदना, हाउभाउ र सङ्केतहरू हो । नेपालमा अभिनयको यस विधा व्यावसायिक भइसकेको छैन ।’
अर्का हास्यव्यङ्ग्यकार मनोज गजुरेलले अग्रवालको फरक प्रयोगको खुलेर प्रशंसा गरे । ‘हामी कमेडीमा नयाँ चाहियो नयाँ चाहियो भनिरहँदा गर्छौँ त्यही रोस्ट, क्यारिकेचर, स्ट्यान्ड अप, व्यङ्ग्य । संसारमा चलिसकेको यो माइम अभिनय तपाईँले यहाँ प्रयोग गर्नु भयो,’ उनले भने ।
तर, माइम र पेन्टोमाइम अभिनयको फरक विधा भएको बताउँछन् कलाकार विजय बराल ।
माइममा नभएको वस्तु त्यहीँ भएजस्तो भ्रम सृजना गर्छन् कलाकारले । पेन्टोमाइममा भएकै वस्तुसँग खेलेर दर्शकलाई आफ्नो अभिनयप्रति आकर्षित गर्छन् ।
कलकत्ताको न्याशनल माइम इन्टिट्यूटमा माइम अभिनय पढेर आएका उनले भने, ‘माइममा कलाकारले भ्रम पैदा गरिदिने हो । नभएको परिवेश वा वस्तुको सृजना गरिदिने । ठ्याक्कै भएजस्तै देखिने गरी । पेन्टोमाइममा त्योभन्दा बढी गर्न पाइन्छ । जस्तै, पात्र स्वयं कुनै वस्तु बनेर बोल्न पाउँछ । गाग्रीबाट गिलासमा खस्दै गरेको पानी बनेको पात्रले कलकलकल… भन्दै आवाज निकाल्न पाउँछ । माइममा यो छुट हुँदैन ।’
यी दुवै मूक अभिनयको फरक विधा भएको बताउँछन् उनी ।
पेन्टोमाइममा कलाकारलाई दर्शकको संवेदनासँग जोडिन सङ्गीत, नृत्य, छोटो र ठट्यौली संवादहरूको प्रयोग गर्ने छुट हुन्छ ।
‘यस प्रस्तुतिमा कलाकारहरू रुँदा पनि दर्शक हाँस्नु पर्छ भन्ने मान्यता छ । तर हरेक दर्शकले विषयवस्तुलाई एउटै ढङ्गमा हेर्छन् वा बुझ्छन् भन्ने होइन । कोही हाँस्न सक्छन् कोही गम्भीर हुन तर कलाकारको प्रयत्न चाहिँ दर्शक हँसाउनु मै केन्द्रित हुनुपर्छ,’ विजयले भने ।
बहसको सुरुवात र अवसर
एउटै प्रस्तुतिका कारण आम दर्शकदेखि फिल्मकर्मी, रङ्गकर्मी लगायतको लागि चर्चाको विषय बन्यो पेन्टोमाइम । तर, स्वस्थ बहसभन्दा बढी पक्ष र विपक्षमा मत राख्ने प्रवृत्ति हाबी भयो । यस्तो स्थिति सृजना हुन नदिनका लागि कला र अभिनयको विविध पक्षबारे विमर्श, अभ्यास हुनुपर्ने कलाकार सरस्वती चौधरीको तर्क छ ।
‘बिक्कीले पेन्टोमाइम त गरे तर उसलाई अभ्यास कसले गरायो त ? निर्णायकहरूले समेत उनको अभिनयलाई माइम भनिरहेका थिए । त्यसैले हामी बुझ्दै बुझ्दैनौँ भन्नुको साटो बुझ्नका लागि आवश्यक कार्यशाला, अभ्यास र अध्ययनमा जोड दिन आवश्यक छ,’ उनले भनिन् ।
बहसको यस सुरुवातसँगै अवसरको ढोका खुलेको बताउँछन् पेन्टोमाइममा अभिनय गरेका कलाकार कमलमणि नेपाल ।
‘कला अभिव्यक्तिको अनेक धार र विधा हुन्छन् । ती सबैबारे सबैलाई थाहा हुन्छ भन्ने हुँदैन । त्यसकै लागि हो अभ्यास र अध्ययन चाहिने,’ नेपालले भने, ‘अभ्यास गराउने कोही भइदिए भोलि बिक्कीले अझै सशक्त पेन्टोमाइम गर्न सक्लान् । यस्ता विषयको खोज र अध्ययन भए भोलि निर्णायकको कुर्सीमा बसेको कसैले ‘मलाई त यस विषयमा थाहा नै छैन’ भन्न नपर्ला । आखिर निर्णायक त सबै कुरा जान्ने भएर त्यहाँ पुगेको हुन्छ नि ।’ बीबीसी नेपालीबाट
FACEBOOK COMMENTS