काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानन्यायाधीश सिफारिस प्रकरणमा उपसभामुख रुवी कुमारी ठाकुरको भूमिकाको आलोचना गरेका छन् ।
शुक्रबार विज्ञप्ति जारी गर्दै साम्पाङले आफ्नो पार्टीबाट उपसभामुख ठाकुरले वरियता मिचेर प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णयमा हस्ताक्षर गरेको भन्दै खेद प्रकट गरेका हुन् ।
उनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संसद् छलेर राष्ट्र प्रमुखमाथि दबाब सिर्जना गर्दै जारी गराउनु गलत भएको बताएका छन् । साम्पाङले गलत कार्यलाई सही भन्न नसकिने उल्लेख गर्दै सरकारले वरिष्ठताको चौथो क्रममा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गरेर अर्को ठूलो गल्ती गरेको आरोप लगाएका छन् ।
उनले सुशासन र थिति बसाल्ने आश्वासन दिएर सत्तामा पुगेका दलहरूले अहिले विधि मिचेर काम गरिरहेको टिप्पणी गर्दै सरकारले गरेको नियुक्ति राजनीतिक तथा कानुनी स्वार्थबाट प्रेरित हुन सक्ने आशंका व्यक्त गरेका छन् । उनका अनुसार सहकारी ठगी प्रकरण तथा भदौ २३ र २४ गते भएको ‘जेन जेड’ आन्दोलनजस्ता विषयमा आफ्नो पक्षमा निर्णय गराउने उद्देश्यले उक्त नियुक्ति गरिएको हुन सक्ने देखिन्छ ।
उनले नियुक्तिसम्बन्धी बैठकका क्रममा विभिन्न दललाई एक ठाउँमा ल्याउनुपर्ने विषयदेखि एमसीसी र एसपीपी जस्ता विषयसमेत उठाएर दबाब र प्रभाव सिर्जना गरिएको दाबी गरेका छन् । अध्यक्ष साम्पाङले विधि र प्रक्रियालाई मिचेर राजनीतिलाई अघि सार्ने प्रवृत्तिको श्रम संस्कृति पार्टीले सधैं विरोध गर्ने बताएका छन् ।


